हेटौंडाः हेटौंडा–१० स्थित संस्कृत वेद विद्यालयलाई सहयोग गर्नेको सङ्ख्या बढ्दै गएको छ । पछिल्लो समय नयाँ विद्यालय व्यस्थापन समितिको सक्रियतामा विद्यालयलाई सहयोग गर्नेको सङ्ख्या बढेको हो ।

विद्यालयका प्रधानाध्यापक गोविन्द अधिकारीका अनुसार अहिले विभिन्न दाताहरुको सहयोगबाट नै विद्यालय सञ्चालन भइरहेको छ । पछिल्लो समय नयाँ विद्यालय व्यवस्थापन समितिको सक्रियताका कारण पनि विद्यालयमा सहयोग गर्नेको संख्या बढिरहेको उहाँले बताउनुभयो ।

सोमबार मकवानपुरका वरिष्ठ पत्रकार प्रताप विष्टले विद्यालयलाई एक छाक खानाबापतको रकम सहयोग गर्नुभएको छ । आफ्नो बुबाको छैठौं पुण्यतिथिको श्राद्ध गर्दा लाग्ने खर्च पत्रकार विष्टले सोमबार विद्यालयलाई नगद ५ हजार १ सय रुपैयाँ नगद सहयोग गर्नुभएको हो । यस्तै, आइतबार नयाँ वर्षको अवसरमा विद्यालयको अक्षयकोषका लागि व्यवसायी दामोदर अटलले ६ हजार १ सय रुपैयाँ सहयोग गर्नुभएको थियो । यसअघि हेटौंडा–२ निवासी रमेश सिंघलले पितृहरुको सम्झनामा भोजनका लागि ५ हजार रुपैयाँ र अक्षय कोषका लागि ५ हजार रुपैयाँ सहयोग गर्नुभएको थियो ।

कक्षा ८ सम्म पठनपाठन हुने विद्यालयमा अहिले २२ जना विद्यार्थी अध्ययनरत छन् । जसमध्ये ३ जनामात्र घरबाट पढ्न आउने र बाँकी विद्यालयमै बसेर पढ्दै आइरहेका छन् । उनीहरुलाई आवास र भोजनसहित निःशुल्क शिक्षा दिने गरेको प्रधानाध्यापक अधिकारीले बताउनुभयो । उहाँले यस वर्षदेखि कक्षा ५, ६, ७ र ८ मा नयाँ भर्ना अभियान सुरु गरी २० जनाभन्दा बढी विद्यार्थी थप गर्ने विद्यालयको योजना रहेको बताउनुभयो ।

विद्यालयमा अहिले नेपाल सरकारबाट अनुदानमा २ जना, निजी स्रोतबाट संस्कृत पढाउने २ जना र अङ्ग्रेजी पढाउने एक जना गरी ५ जना शिक्षकहरु रहेका छन् । उहाँले सबै कुराको व्यवस्थापन गर्न विद्यालयले अक्षयकोष निर्माण सुरु गरेको बताउनुभयो । विद्यालयले ५० लाख रुपैयाँको अक्षयकोष बनाउने लक्ष्य राखेको उहाँले जानकारी दिनुभयो ।

प्रधानाध्यापक अधिकारीका अनुसार अक्षयकोषका लागि हेटौंडा उपमहानगरपालिकाले वडा नम्बर १० मार्फत् ५ लाख रुपैयाँ उपलब्ध गराउने भएको छ । यस्तै, हेटौंडा–२ निवासी राधा पराजुलीले ५० हजार रुपैयाँ र महेन्द्र इटेनीले १० हजार रुपैयाँ अक्षयकोषका लागि नगद उपलब्ध गराएको उहाँले बताउनुभयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामकृष्ण थापाले अहिले संस्कृत भाषाको महत्व बढिरहेको बेला विद्यालयले नयाँ भर्ना अभियान सुरु गरेको बताउनुभयो । उहाँले यसै शैक्षिक सत्रबाट निःशुल्क कम्प्युटर शिक्षा, संगीतका कक्षा र निःशुल्क योग शिक्षा पनि प्रदान गरिने बताउनुभयो । उहाँले समयमै विद्यार्थीहरुलाई भर्ना हुन पनि आग्रह गर्नुभएको छ ।