हेटौंडाः बागमती प्रदेशमा समाजिक विकास मन्त्रालयअन्तर्गत् प्रदेश युवा परिषदले युवा सम्मेलन गर्ने भएको छ । सोमबार सामाजिक विकास मन्त्रालय हेटौंडामा बसेको ११ औँ बोर्ड बैठकको निर्णयअनुसार यही बैशाख २८, २९ र ३० गते ३ दिने युवा सम्मेलन आयोजना गर्न लागेको प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईले जानकारी दिनुभयो ।

युवालाई सामाजिक र सार्वजनिक जीवनमा सहभागी गराउने, नवप्रवर्तन र उद्यमशीलता विकास गर्ने उद्देश्यले सम्मेलनको आयोजना गरिने प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष चौलागाईले बताउनुभयो । परिषद्ले प्रदेश युवा नीति–२०७९ तयार पारेपछि प्रदेशमा युवाका लागि काम गर्न आवश्यक सल्लाह, सुझाव संकलन गर्न र अवधारणा निर्माण गर्न पनि सम्मेलन उपयोगी हुने विश्वास उहाँले व्यक्त गर्नुभएको छ ।

युवा पुस्तामा चरम निराशाका बीच आशा जगाउन युवा सम्मेलन आवश्यक रहेको उहाँको भनाइ छ । युवा सम्मेलनमा २ सय जना युवाको सहभागिता रहने बताइएको छ । सम्मेलनमा विभिन्न कार्यशाला हुनेछ । युवा सम्मेलनको अन्तिम दिन मुख्यमन्त्रीसँग युवा कार्यक्रम गरी समापन गरिने उपाध्यक्ष चौलागाईले जानकारी दिनुभयो ।

युवा सम्मेलन पश्चात् ‘युवा सिप वर्ष २०८१’ घोषणा गरिने चौलागाईको भनाइ छ । यस वर्ष प्रदेशका ५ हजार युवालाई ७ वटा क्षेत्रमा २९ पेसाका सिप सिकाई सिप परीक्षणपश्चात् टेवा पुँजी प्रदान गरिने उहाँले बताउनुभयो । निर्माण, कृषि, सेवा, होटल तथा पर्यटन, होजियारी तथा तयारी पोशाक र सूचना तथा सञ्चारको क्षेत्रमा तालिम दिइनेछ । तालिम स्थानीय तह, सामुदायिक विद्यालय, कलेज, सामाजिक संस्थाहरुको समन्वयमा सञ्चालन हुनेछ ।

तालिमपश्चात् सामाजिक विकास मन्त्रालय, सीटीईभीटी र प्रदेश युवा परिषद्को त्रिपक्षीय सम्झौतामा सिप परीक्षण हुनेछ । बोर्ड बैठकमा परिषद्का अध्यक्ष एवम् सामाजिक विकास मन्त्री कुमारी मोक्तान, प्रदेश युवा परिषद्का उपाध्यक्ष चौलागाई, नीति योजना आयोगका अध्यक्ष नरबिक्रम थापालगायत परिषद्का कर्मचारी, सदस्यहरुको उपस्थिति रहेको थियो ।