नेपालमा बैशाख महिनाबाट विद्यालय तहको नयाँ शैक्षिक सत्र सुरु हुन्छ । नयाँ शैक्षिक सत्रको सुरुवातसँगै सामुदायिक तथा संस्थागत विद्यालयहरुले विभिन्न शैक्षिक कार्यक्रम तथा योजना तय गर्दछन् । बितेको शैक्षिक सत्रको समीक्षा गर्दै नयाँ शैक्षिक सत्रका लागि कार्ययोजना बनाउनु आवश्यक पनि छ । विद्यालयहरुले आफ्नो क्षमता र आवश्यकताअनुसार विद्यार्थी संख्या पुर्याउन र कायम राख्न नियमित शैक्षिक क्रियाकलापसँगै विभिन्न कार्यक्रमहरु सञ्चालन गर्ने गरेका छन् । यस्तै क्रियाकलापमध्ये नयाँ विद्यार्थी भर्ना अभियान पनि सञ्चालन गरिँदै आएको छ । करिब दुई दशकदेखि सरकारकै अग्रसरता र आह्वानमा विद्यालयहरुले नयाँ विद्यार्थी भर्ना अभियान तथा विद्यालयमा स्वागत कार्यक्रम सञ्चालन गर्दै आएका छन् । यस्तो अभियानले विद्यालय बाहिर रहेका बालबालिकालाई विद्यालयसम्म ल्याउन र विद्यालयमा विद्यार्थी संख्या बढाउन सहयोग गर्दै आएको छ ।
बैशाख महिना सु रु भएसँगै मुलुकभर विद्यालय भर्ना अभियान चलिरहे को छ । सं घीय सरकारको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत्को शिक्षा तथा मानव स्रोत विकास केन्द्रको निर्देशनबमोजिम अहिले विद्यालयहरुमा शैक्षिक सत्र २०८१ का लागि विद्यार्थी भर्ना अभियान सुरु भएको छ । ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता’ भन्ने आदर्श वाक्यका साथ विद्यार्थी भर्ना अभियान सञ्चालन गर्न केन्द्रले निर्देशन दिएको थियो । केन्द्रले ७७ वटा जिल्लाका शिक्षा विकास तथा समन्वय इकाई, ७५३ वटै स्थानीय तह तथा विद्यालयहरुलाई बैशाख पहिलो हप्ता विद्यार्थी भर्ना तथा स्वागत कार्यक्रम सञ्चालन गर्न आग्रह गरेको थियो । केन्द्रले बैशाख ५ गतेसम्म अभियानको ब्यानरसहित घरदैलो कार्यक्रम, सूचना र आह्वान गर्न र बैशाख ७ गते अभिभावकविहीन बालबालिकाको अभिभावकत्व ग्रहणका लागि आह्वान गर्ने कार्यक्रम तय गरेको छ । बैशाख १० गतेसम्म भर्ना भएका विद्यार्थीलाई सोही दिन पोशाक र छात्रवृत्ति वितरण गरिने केन्द्रको निर्देशनमा उल्लेख छ ।
शिक्षा तथा मानव स्रोत विकास केन्द्रको अनुरोधअनुसार हेटौंडाका सामुदायिक विद्यालयहरुले विद्यार्थी भर्ना अभियान सञ्चालन गर्दै घरदैलो कार्यक्रम गरिरहेका छन् । कतिपय सामुदायिक विद्यालयहरुले गत चैतमा वार्षिक परीक्षापछि नै घरदैलो अभियान गर्दै प्रचारात्मक कार्यक्रम गरिसकेका छन् । मकवानपुरका संस्थागत विद्यालयहरुले भने विद्यार्थीको परीक्षाफल प्रकाशन नगरेका कारण औपचारिकरुपमा भर्ना अभियान सुरु गरेका छैनन् । प्याब्सनअन्तर्गत्का संस्थागत विद्यालयहरुले आज मंगलबार नतिजा प्रकाशन गरेपछि भर्ना अभियान सञ्चालन गर्ने भएका छन् । विद्यार्थी संख्या कम भएका विद्यालयमा विद्यार्थी संख्या वृद्धि गर्न र सबै बालबालिकालाई शिक्षा प्राप्त गर्ने अवसर प्रदान गर्न विद्यार्थी भर्ना अभियान उपयोगी हुने गरेको छ । पछिल्लो समय अब्बल विद्यार्थीलाई आफ्नो विद्यालयतर्फ आकर्षित गर्नका लागिसमेत भर्ना अभियान सहयोगी बनिरहेको छ ।
अहिले धेरै सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर सुधार हुँदै गएका कारण विद्यार्थी संख्या बढाउनकै लागि भर्ना अभियान सञ्चालन गर्नु आवश्यक देखिँदैन । तर, सरकारले आधारभूत तहसम्मको शिक्षा अनिवार्य र निःशुल्क हुने कानुनी व्यवस्था गरेको अवस्थामा विद्यालय बाहिर रहेका बालबालिकालाई विद्यालयसम्म ल्याउन यो अभियान आवश्यक छ । पूर्व प्राथमिक तहको कुल भर्नादर करिब ९५ प्रतिशतमात्र रहेको अवस्थामा यसलाई शतप्रतिशत पु¥याउन पनि भर्ना अभियानलाई निरन्तरता दिनुपर्छ । त्यतिमात्र नभई विद्यालयमा भर्ना भएका विद्यार्थीमध्ये धेरैले आधारभूत तहसम्मको अध्ययन पनि पूरा नगरी विद्यालय छाड्ने परिपाटी अन्त्यका लागि भर्ना अभियानसँगै सरकारले विद्यार्थी टिकाउने योजनासमेत अघि बढाउनु आवश्यक देखिन्छ । विद्यालय जाने उमेरका सबै बालबालिकालाई विद्यालयमा ल्याउन र उनीहरुलाई कम्तिमा पनि आधारभूत तहसम्मको शिक्षा पूरा गर्ने वातावरण बनाउन सकेमा विद्यार्थी भर्ना अभियानको सार्थकता रहन्छ ।