नगरप्रमुख मीनाकुमारी लामालाई भेट्न पुगेका महासंघका अधिकारीहरु ।

हेटौँडाः नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेश समितिको कार्यालय भवन निर्माणका लागि हेटौँडा उपमहानगरपालिकाले उपलब्ध गराएको जमिन उपमहानगरले फिर्ता लिने कार्यपालिका बैठकको निर्णयप्रति आश्चर्य प्रकट गर्दै महासंघका पदाधिकारीले हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मीनाकुमारी लामालाई भेटेका छन् ।

आइतबार बसेको नगर कार्यपालिकाको बैठकले २०७८ साल चैत १६ गतेको कार्यपालिका बैठकले नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेश समितिको कार्यालय भवन निर्माण गर्न दिएको जमिन उपमहानगरलाई नै आवश्यक भएकोले जग्गा फिर्ता लिने निर्णय गरेको थियो । महासंघको प्रदेश समितिको कार्यालय निर्माणका लागि भनेर प्राप्त गरेको ३ कठ्ठा जमिन पर्खाल लगाएर गत फागुन १० गते भवन सिलान्यास समेत भइसकेको थियो । एक्कासी जग्गा फिर्ता लिने निर्णयपछि महासंघको बागमती प्रदेश समितिका कोषाध्यक्ष कविराज खत्री, कार्यकारी सदस्य जीवनकाजी माकजु श्रेष्ठ, कार्यकारी निर्देशक विवेक मानन्धर र महासंघको पूर्वकेन्द्रीय सदस्य राजकुमार न्यौपानेले सोमबार दिनको ५ बजे नगरप्रमुख लामाले भेटेका थिए ।

महासंघको टोलीलाई नगरप्रमुख लामाले आफूले मात्रै निर्णय नगरी कार्यपालिकाले यस्तो निर्णय गरेको जीकिर गर्नुभयो । महासंघलाई भवन बनाउन जग्गा दिएको विषयलाई लिएर अख्तियारमा उजुरी परेको बताउनुहुँदै फिर्ता लिनै पर्ने भएपछि यस्तो निर्णय गर्नुपरेको नगरप्रमुख लामाले दावी गर्नुभएको छ । महासंघको बागमती प्रदेश कोषाध्यक्ष कविराज खत्रीले महासंघले भवन निर्माणको कार्य समेत अघि बढाइसकेको सन्दर्भमा उपमहानगरले एकतर्फी निर्णय लिनु प्रतिष्ठाको विषय समेत भएको बताउनुभयो । यस्तो प्रवृत्तिले उद्योगी, व्यवसायीमा निराशा पैदा हुने, विश्वासको वातावरण नबन्ने पनि उहाँको भनाइ छ । उपमहानगरको यस्तो निर्णयपछि महासंघको बागमती प्रदेश समितिले सोमबार साँझ आकस्मिकरुपमा भर्चुअल बैठकको आयोजना गरेको कार्यकारी निर्देशक विवेक मानन्धरले जानकारी दिनुभएको छ ।