भीम पाख्रिन (बायाँ), वीरबहादुर घलान (दायाँ) ।

हेटौँडाः नेकपा माओवादी केन्द्रको मकवानपुर जिल्ला समन्वय समितिको संयोजकको जिम्मेवारी भीम पाख्रिनलाई दिइएको छ । नेकपा माओवादी केन्द्र बागमती प्रदेश कमिटीको चैत २० गते बसेको बैठकले पाख्रिनलाई जिल्ला संयोजकको जिम्मेवारी दिइएको हो । यसअघि जिल्ला संयोजकमा सर्केश घलान हुनुहुन्थ्यो ।

यसअघि पाख्रिन जिल्ला समन्वय समितिको सचिव हुनुहुन्थ्यो । यस्तै जिल्ला सचिवमा वीरबहादुर घलान (ज्वाला) लाई जिम्मेवारी दिइएको छ । नेकपा माओवादी केन्द्र बागमती प्रदेश कमिटीका अध्यक्ष सरल सहयात्रीले संयोजक र सचिव चयन गर्ने निर्णय भएको जानकारी दिनुभयो । जिल्ला संयोजकले पालिका तह र तल्लो तहको पार्टी संरचनालाई क्रियाशील गराउने जिम्मेवारी रहने सहयात्रीले बताउनुभयो । यसअघि जिल्ला इन्चार्जमा विजय गौतमलाई जिम्मेवारी दिइएको थियो ।

पार्टीको प्रदेश कमिटीमा रहने जिल्लाका पदाधिकारी तथा सदस्यहरुको समितिले जिल्ला संयोजक सिफारिस गर्ने व्यवस्था रहेको एक नेताले जानकारी गराएका छन् । गत फागुन १ गतेदेखि ३ गतेसम्म भएको पार्टीको विधान अधिवेशनले कार्यकारी पदमा रहेका पार्टीका नेताहरुलाई पार्टीको प्रमुखको जिम्मेवारी नदिने निर्णयअनुसार जिम्मेवारी हेरफेर गरिएको बताइएको छ । पार्टीको पालिका कमिटीको कार्यकाल २ बर्ष, प्रदेश कमिटीको कार्यकाल ३ बर्षको रहने व्यवस्था भए पनि जिल्ला समन्वय समितिको कार्यकाल भने निश्चित छैन ।