गुगल तस्विर ।

हेटौंडाः छुट्टाछुट्टै घटनामा एकैदिन २ बालक र एक वृद्धको मृत्यु भएको छ । बागमती प्रदेशको धादिङ र काभ्रेमा दुई बालकको मृत्यु भएको छ भने रामेछापमा एक जना वृद्ध मृत फेला परेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जानकारी दिएको छ ।

धादिङ जिल्लाको ज्वालामुखी गाउँपालिका–१, पिपलटारमा बोलेरोले ठक्कर दिँदा बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा ६ वर्षीय रमन कुमाल रहेको प्रहरीले जानकारी दिएको छ ।सोमबार बिहान ७ बजेर ५० मिनेटको समयमा पिपलटारबाट धादिङबेशीतर्फ जाँदै गरेको बा १९ च १६६४ नम्बरको बोलेरो गाडी ब्याक गर्ने क्रमममा कुमाललाई ठक्कर दिँदा बालकको घटनास्थलमै मृत्यु भएको थियो । बलेरो चालक धादिङ, ज्वालामुखी बस्ने ४१ वर्षीय शिवबहादुर कुमाललाई नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ ।

काभ्रेपलाञ्चोक जिल्लाको तेमाल गाउँपालिका–४, भञ्ज्याङमा बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा ६ वर्षीय कोलाक्पा तामाङ रहेको प्रहरीले जानकारी दिएको छ ।तामाङ ३ दिन अगाडि मामाघर ठूलो फर्सेल गएकोमा आमाले नुहाउन लाग्दा एक्कासी कामेर बेहोस भएका थिए । तामाङलाई उपचारका लागि धुलिखेल शाखा अस्पताल बाल्देफेदी लगिएकोमा उपचारको क्रममा सोमबार डाक्टरले मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ । यस्तै, रामेछाप जिल्लाको रामेछाप नगरपालिका–६, हुदिलमा एक जना वृद्ध मृत अवस्थामा फेला परेका छन् । मृत फेला पर्नेमा ७३ वर्षीय तेजबहादुर कार्की रहेको प्रहरीले जानकारी दिएको छ । सोमबार बिहान ११ बजेर ४५ मिनेटको समयमा कार्की आफ्नै घरमा कोही नभएको अवस्थामा मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ ।