भलिबल प्रतियोगिताको उद्धाटनको तस्विर ।

हेटौंडाः हेटौंडामा जिल्लास्तरीय शिक्षक भलिबल प्रतियोगिता सुरु भएको छ । शुक्रबारबाट सुरु भएको प्रतियोगिताको उद्घाटन हेटौंडा उपमहानगरपालिका वडा–४ का अध्यक्ष नवीन सिग्देलले गर्नुभएको हो । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ को आयोजनामा भएको प्रतियोगिता शैक्षिक गुणस्तर सुधार समितिको व्यवस्थापन र हेटौंडा–४ स्थित आधुनिक राष्ट्रिय माध्यमिक विद्यालयको सहव्यवस्थापनमा सुरु भएको हो ।

हेटौंडा–४ हुप्रचौरस्थित भलिबल कोर्टमा भएको प्रतियोगिताको पहिलो खेलमा मकवानपुरगढी गाउँपालिका–३, मक्रान्चुलीको भानु माध्यमिक विद्यालयले विजयी सुरुवात गरेको छ । हेटौंडा–४ स्थित नवोदय शिशु सदनलाई २–० को सोझो सेटले हराउँदै भानु माविले विजयी सुरुवात गरेको हो । नवोदयलाई भानु माविले २५–१४ र २५–१७ ले पराजित गरेको हो ।

प्रतियोगिताको दोस्रो खेलमा कृष्ण आदर्श बोर्डिङलाई सनसाइन बोर्डिङले २–१ को सेटले पराजित गरेको छ । पहिलो सेटमा २७–२५ ले कृष्ण आदर्शलाई पराजित गरेको सनसाइन दोस्रो सेटमा २०–२५ को सेटले पराजित हुनुपरेको थियो । तेस्रो सेटमा १५–११ ले सनसाइनले कृष्ण आदर्शलाई पराजित गरेको छ ।

तेस्रो खेलमा हेटौंडा–४ स्थित भूटनदेवी माध्यमिक विद्यालयलाई २–० को सोझो सेटले जनक माविले पराजित गरेको छ । भूटनदेवी माविलाई जनक माविले २५–१४ र २५–१५ ले पराजित गरेको हो । यस्तै, चौथो खेलमा हेटौंडा–४ स्थित हेटौंडा क्याम्पसले जनज्योति माध्यमिक विद्यालयलाई २–१ को सेटले पराजित गरेको छ । पहिलो सेटमा १४–२५ ले पराजित भएको हेटौंडा क्याम्पसले दोस्रो र तेस्रो सेटमा जनज्योति माविलाई २६–२४ र १५–९ ले पराजित गरेको हो ।

यस्तै, शुक्रबारको पाँचौँ खेलमा बकैया गाउँपालिका–४, छतिवनको महेन्द्र माध्यमिक विद्यालयले मकवानपुरगढी गाउँपालिकाको शारदा माध्यमिक विद्यालयलाई २–१ को सेटले पराजित गरेको छ । पहिलो सेटमा २५–२२ ले शारदा माविलाई पराजित गरेको महेन्द्र मावि दोस्रो सेटमा १७–२५ ले पराजित हुनुपरेको थियो । तर, तेस्रो सेटमा महेन्द्र माविले शारदा माविलाई १५–९ ले पराजित गरेको हो ।
प्रतियोगिताको छैटौँ खेलमा आधुनिक राष्ट्रिय माध्यमिक विद्यालयले सत्यम जेभियर्स बोर्डिङलाई २–० को सेटले पराजित गरेको छ । सत्यम जेभिसयलाई आधुनिक माविले २५–२१ र २५–१३ ले पराजित गरेको हो ।

सातौँ खेलमा हेटौंडा–५ स्थित बालज्योति माध्यमिक विद्यालय उपस्थिति नभएका कारण हेटौंडा–१० स्थित तुलसी मेहरलाई स्वतः विजेता घोषित गरिएको छ । यस्तै, पहिलो चरणको अन्तिम खेलमा हेटौंडा–५ स्थित जीएस निकेतनले हेटौंडा–४ स्थित श्रमिक माध्यमिक विद्यालयलाई २–० को सेटले पराजित गरेको छ । श्रमिकलाई जीएसले २५–१९ र २५–१७ ले पराजित गरेको हो ।

आधुनिक माध्यमिक विद्यालयका खेलकुद शिक्षक राजाराम पोखरेलको संयोजकत्वमा भएको प्रतियोगितामा १६ वटा विद्यालयको सहभागिता रहेको छ । प्रतियोगिताअन्तर्गत् आज शनिबार क्वाटरफाइनल, सेमिफाइनल र फाइनल चरणको खेलहरु हुनेछ ।

प्रतियोगिताको उपाधि विजेता टिमले २५ हजार रुपैयाँ र उपविजेता टिमले १५ हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने प्रतियोगिताका संयोजक पोखरेलले बताउनुभयो । यस्तै, सेमिफाइनलमा पराजित हुने २ वटा टिमले प्रोत्साहनस्वरुप ५–५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताको उत्कृष्ट खेलाडीले ३ हजार रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उत्कृष्ट स्पाइकर र उत्कृष्ट सेटरले २ हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गर्नेछन् ।

प्रतियोगिताको उद्घाटन कार्यक्रममा शैक्षिक गुणस्तर सुधार समितिका अध्यक्ष श्रीराम दहालको सभाध्यक्षता रहेको थियो । उद्घाटन कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख माधव कोइरालाको विशिष्ट आतिथ्य रहेको थियो ।