हेटौँडाः धादिङ, चितवन र काभ्रेपलाञ्चोकमा एकैदिन ४ जना मृत फेला परेका छन् । बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले दिएको जानकारीअनुसार धादिङ जिल्लाको नेत्रावति गाउँपालिका–४ मा ५२ वर्षीय पाण्ड सापकोटा मृत फेला परेका छन् । प्रहरीकाअनुसार स्थानीय खोलामा हाम फालेका सापकोटा मृत फेला परेका हुन् । बुधबार बिहान ९ बजेको समयमा बाँदरे खोलाको दह (पोखरी) मा हाम फालेका सापकोटाको मृत्यु भएको भएको प्रहरीले जानकारी दिएको छ ।
चितवन जिल्लाको खैरहनी नगरपालिका–११, हरियाली पार्कमा एक जना पुरुषको मृत फेला परेका छन् । मृत फेला पर्ने ५० वर्षीय नरेन्द्र दराई रहेको प्रहरीले जानकारी दिएको छ । बुधबार दिउँसो ३ बजेको समयमा दराई आफ्नै घरमा लडिरहेको अवस्थामा फेला पारेका थिए । दराईलाई उपचारका लागि भरतपुर अस्पताल लगिएकोमा डाक्टरले मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ ।
यस्तै, काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिका–६, बुडोलडाँडामा घरको छतमा लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ३८ वर्षीय सन्तोष खत्री रहेको प्रहरीले जानकारी दिएको छ । बुधबार बिहान ५ बजेको समयमा घरको छतमा लडी रहेको अवस्थामा फेला पारी उपचारका लागि बनेपास्थित शिर मेमोरियल अस्पताल लैजाँदै गर्दा बाटोमा नै खत्रीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
काभ्रेपलाञ्चोक जिल्लाको खानीखोला गाउँपालिका–७, त्रिवेणीघाट सामुदायिक जङ्गलमा एक जना महिला मृत अवस्थामा फेला परेकी छन् । बुधबार साँझ ५ बजेको समयमा सडेर गलिसकेको अवस्थामा महिलाको शव फेला परेको प्रहरीले जानकारी दिएको छ । मृत भेटिएकी महिलाको सनाखत हुन सकेको छैन ।