हेटौंडाः बागमती प्रदेशका नवनियुक्त स्वास्थ्यमन्त्री रामेश्वर श्रेष्ठले प्रदेशमा आत्महत्या न्यूनीकरण गर्न संयन्त्र निर्माण गर्ने बताउनुभएको छ । स्वास्थ्यमन्त्री श्रेष्ठले मन्त्री नियुक्त भएपश्चात् पहिलो निर्णय गर्दै जनताको स्वास्थ्यको क्षेत्रमा संयन्त्र बनाई कार्य गर्ने जानकारी दिनुभएको हो ।

आत्महत्या बढ्दै गएकाले प्रदेशमा रहेका १३ वटै प्रादेशिक अस्पतालहरूमा मानसिक रोगको निदान र उपचार सेवा प्रदान गर्ने निर्णय गरेको मन्त्री श्रेष्ठले जानकारी दिनुभयो । मन्त्री श्रेष्ठले स्थानीय तहको साझेदारीमा समुदायस्तरमा मानसिक स्वास्थ्यको निदान एवम् मनोसामाजिक परामर्शलाई सुदृढीकरण गर्न जनचेतनामूलक कार्य गर्ने निर्णय गरेको बताउनुभयो । बागमती प्रदेशमा स्वास्थ्य क्षेत्रका कर्मचारीको व्यवस्थापनमा पनि जोड दिने उहाँले बताउनुभएको छ । आफूले अघिल्लो पटक मन्त्री हुँदा कर्मचारी व्यवस्थापनका लागि ओएनएम गरेको र प्रक्रियागत अघि बढेको बताउनुभयो ।

प्रदेशका सम्पूर्ण स्थानीय तहका कर्मचारीलाई तालिम प्रदान गरी दक्ष जनशक्ति उत्पादनमा जोड दिने बताउनुभयो । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट दक्ष जनशक्ति उत्पादन गर्न प्रदेश सरकारले प्राथमिकता दिएको उहाँले बताउनुभयो । प्रदेशमा स्वास्थ्य क्षेत्रमा नीतिगतरुपमा व्यापक सुधार गरेर लैजाने मन्त्री श्रेष्ठले दाबी गर्नुभयो ।

आफू पहिले मन्त्री नियुक्त हुँदा प्रदेशमा जेष्ठ नागरिक, दलित, विपन्न वर्गको स्वास्थ्य बिमा मन्त्रालयले नै गर्ने नीति ल्याएकाले सोहीअनुसार कार्य हुँदै गएकाले राम्रो कार्य गरे जुनै सरकार आए पनि कार्यान्वयन हुनेमा उहाँको जोड छ । प्रदेशका जनतालाई केन्द्रमा राखेर जनताको हितको लागि कार्य गर्ने बताउँदै कर्मचारी व्यवस्थापन गरेर इमान्दारीका साथ काम गर्ने र स्वास्थ्य क्षेत्र व्यवस्थित बनाउने प्रतिवद्धता जनाउनुभयो । श्रेष्ठले दोस्रो पटक स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाउनुभएको हो ।