हेटौंडाः राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले देशमा अहिले योजनाबद्धरुपमा धर्म परिवर्तन गराउने प्रयास भइरहेको बताउनुभएको छ । शुक्रबार पार्टीको कार्यकर्ता भेलाअघि सञ्चारकर्मीहरुसँग कुराकानी गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
अहिले देशमा धर्मनिरपेक्षको आडमा संगठित र योजनाबद्धरुपमा धर्म परिवर्तन गराउने काम भइरहेको उहाँले बताउनुभयो । नेपालमा सनातन धर्म, संस्कृतिलाई कमजोर बनाउन र धर्म परिवर्तनका लागि विदेशी शक्तिको करोडौँ रुपैयाँ लगानी भइरहेको उहाँले बताउनुभयो । समाजलाई इसाईकरण बनाउन यस्तो भइरहेको उहाँले आरोप लगाउनुभयो । यसका लागि विभिन्न गैरसरकारी संस्थाहरु विदेशी रकम लिएर यस कार्यमा सक्रिय भएको उहाँको भनाइ छ ।
संविधानअनुसार नेपाल धर्मनिरपेक्ष देश भए पनि पुरानो सनातन धर्मको रक्षा गर्नु राज्यको कर्तव्य भनेर लेखिएको स्मरण गराउँदै सरकारले यसबारे कुनै ध्यान नदिएको उहाँले बताउनुभयो । खुलेआम धर्म परिवर्तन गर्ने गरी धार्मिक भावनाको विरुद्धमा कार्य भइराख्दा पनि सरकार र जिम्मेवार निकायहरु मौन रहनु आश्चर्यजनक रहेको उहाँले बताउनुभयो ।
उहाँले देशमा संघीय लोकतान्त्रिक गणतन्त्र असफल भएको पनि बताउनुभएको छ । यो व्यवस्था भ्रष्ट व्यवस्था र तस्करी तन्त्रमा रुपान्तरण भएको उहाँले आरोप लगाउनुभयो । यो व्यवस्थाको विकल्पमा राजासहितको प्रजातन्त्र र पूर्ण धार्मिक सहिष्णुतासहितको सनातन हिन्दू राष्ट्र भएको उहाँले बताउनुभयो ।
राप्रपा नेपालका अध्यक्ष थापाले यो विकल्प स्थापना गर्नका निम्ति सदनदेखि सडकसम्मको जनसंघर्ष र जनआन्दोलन अपरिहार्य भएको बताउनुभएको छ । यस्तो जनसंघर्ष कुनै एक राजनीतिक दलले गरेरमात्र नहुने भन्दै समान विचारधारा भएका सबै शक्तिहरु एउटै मोर्चामा आवद्ध हुनुपर्ने उहाँले बताउनुभयो । मोर्चा बनाएर भ्रष्ट व्यवस्थाबाट देश र जनतालाई मुक्त दिलाउन आवश्यक रहेको पनि अध्यक्ष थापाले बताउनुभयो ।