हेटौंडाः मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिकाले पालिकामा रहेका ३७ वटा विद्यालयका प्रधानाध्यापकको सहभागितामा गाउँ शिक्षा योजना निर्माणसम्बन्धी कार्यशाला सम्पन्न गरेको छ । बिहीबार गाउँपालिकाको शिक्षा शाखाको आयोजनामा कार्यपालिकाको हलमा कार्यशाला भएको प्रधानाध्यापक कमल फुयाँलले जानकारी दिनुभयो ।
कार्यशालामा मकवानपुरगढी गाउँपालिकाको शिक्षासम्बन्धी समस्या, चुनौती, अवसर, सबल पक्ष, दुर्बल पक्ष र समूहबाट अभ्यास गर्ने, समीक्षा गर्ने र गाउँ शिक्षा योजनामा समावेश गर्ने कुराहरुका बारेमा छलफल भएको प्रधानाध्यापक फुयाँलले जानकारी दिनुभयो । मकवानपुरगढी गाउँपालिकाको शिक्षामा भौतिक पूुर्वाधार पर्याप्त मात्रामा नहुनु, शौचालयको राम्रो व्यवस्था नहुनु, विद्यार्थीको संख्या कम हुनु र विद्यालयको कोठा र शिक्षक विद्यार्थीको अनुपात नमिल्नुजस्ता कमजोरीहरु रहेको उहाँले जानकारी दिनुभयो ।
बागमती प्रदेश सरकारबाट अनिवार्य तथा निःशुल्क शिक्षा लागू भएको स्थानीय तह घोषणाका लागि मकवानपुरगढी गाउँपालिका र थाहा नगरपालिका छनोट भएको छ । सोहीअनुसार गाउँपालिकाले २०८१ जेठ मसान्तभित्र अनिवार्य तथा निःशुल्क शिक्षा लागू भएको गाउँपालिका घोषणा गर्ने कार्ययोजना बनाएको प्रधानाध्यापक फुयाँलले जानकारी दिनुभयो ।
शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरका प्रमुख दिनानाथ गौतमको प्रमुख आतिथ्य तथा मकवानपुरगढी गाउँपालिका प्रमुख दोर्जे लामा स्याङ्तानको आतिथ्यमा कार्यशालामा भएको थियो । कार्यशालामा पालिकाको शिक्षा शाखा प्रमुख राम घलान, गाउँपालिकाको ८ जना वडा अध्यक्षहरुको आतिथ्य रहेको थियो । मकवानपुरगढी गाउँपालिकाले आगामी चैत २१ गते विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरुलाई उनीहरुको भूमिकाका विषयमा अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ ।