सौराहाः बागमती प्रदेश सभा सचिवालयलको आयोजनामा संसदीय पत्रकारिता सम्बन्धमा सञ्चारकर्मीसँग अन्तरक्रिया कार्यक्रम सुरु भएको छ । शुक्रबार बागमती प्रदेश सभाका सभामुख भूवन कुमार पाठकको प्रमुख आतिथ्यमा चितवनको सौराहामा कार्यक्रम सुरु भएको हो ।

प्रदेशसभालाई थप प्रभावकारी बनाउन, सचिवालय र पत्रकारबीच सुमधुर सम्बन्ध कायम राख्न अन्तरक्रिया कार्यक्रम राखिएको प्रदेश सभा सचिव कृष्णहरी खड्काले जानकारी गराउनुभयो । बागमती प्रदेशको राजधानी हेटौँडामा रहेको र संसदीय रिपोर्टिङ गरिरहेका सञ्चारकर्मी लक्षित कार्यक्रम शुक्रबार र शनिबार दुई दिन चल्नेछ । कार्यक्रममा राष्ट्रिय सभाका पूर्व सचिव राजेन्द्र फुयाँलले संसदको कार्य, यसको प्रभावकारिता, अवस्था लगायतका विषयमा प्रस्तुतीकरण दिनुभएको छ ।

अन्तरक्रियामा संसदीय विधि र व्यवस्थापन प्रक्रिया अन्तर्गत नीति तथा कार्यक्रम, पूर्व बजेट छलफल, राजश्व र व्यापारको अनुमान पेश, विधेयक पारित प्रक्रिया, शून्य, विशेष समय तथा मुख्यमन्त्रीको जवाफ लगायतका संसदीय प्रक्रियाका विषयमा जानकारी समेत गराइनेछ । कार्यक्रममा प्रदेश सभा सचिवालयका सचिव पूर्णबहादुर दर्जी, विज्ञ पत्रकार हरि बहादुर थापा, पत्रकार महासंघ मकवानपुरका उपाध्यक्ष ध्रुब अधिकारीलगायतको आतिथ्य रहेको थियो ।