हेटौंडाः हेटौंडा–६ स्थित गौरीटार रंगशालामा जारी अन्तरवडास्तरीय १५ नम्बर वडाध्यक्ष कप फुटबल प्रतियोगिताको फाइनलमा वडा नम्बर १२ र ७ बिच प्रतिस्पर्धा हुने भएको छ । शुक्रबार भएको सेमिफाइनल खेलपछि आइतबार हुने फाइनलमा भिड्ने टोलीको टुंगो लागेको हो ।
पहिलो सेमिफाइनल खेलमा वडा–८ लाई हराउँदै वडा–१२ फाइनमा प्रवेश गरेको हो । हेटौंडा उपमहानगरपालिका १५ नम्बर वडा खेलकुद विकास समितिको आयोजनामा शुक्रबार भएको पहिलो सेमिफाइनल खेलमा वडा–८ लाई ३–१ गोलअन्तरले पराजित गर्दै वडा–१२ फाइनल प्रवेश गर्ने पहिलो टोली बन्न सफल भएको हो ।
वडा–१२ बाट साजन पाख्रिन एक्लैले ३ गोल गरेका हुन् । पाख्रिनले पहिलो हाफमा एक र दोस्रो हाफमा दुई गोल गर्दै ह्याट्रिक पूरा गरे । यता, वडा–८ बाट विपिन घिमिरेले मात्र एक गोल गर्न सफल भएका हुन् । खेलको म्यान अफ द म्याच ह्याट्रिक गर्ने वडा–१२ का पाख्रिन घोषित भएका छन् ।
शुक्रबारै भएको दोस्रो सेमिफाइनल खेलमा आयोजक तथा तेस्रो संस्करणको उपविजेतासमेत रहेको वडा–१५ लाई २–१ गोल अन्तरले हराउँदै वडा–७ फाइनलमा प्रवेश गरेको छ । वडा–७ बाट कुशल अधिकारीले र राजु लामाले समान १–१ गोल गरेका थिए । वड–१५ को तर्फबाट खेलको म्यान अफ द म्याच विशाल भोलनले एक गोल गर्न सफल भएका थिए । खेलको म्यान अफ द म्याच वडा–७ बाट रोशन दोङ घोषित भएका छन् ।
प्रतियोगिताअन्तर्गत् आइतबार फाइनल खेलमा उपाधिका लागि हेटौंडा–१२ र हेटौंडा–७ बिच प्रतिस्पर्धा हुने खेलकुद विकास समितिका अध्यक्ष गोविन्द नेगीले बताउनुभएको छ । प्रतियोगितामा हेटौंडा उपमहानगरपालिकाभित्रका १७ वटा वडाहरुको सहभागिता रहेको थियो । प्रतियोगिताको उपाधि विजेता टिमले एक लाख रुपैयाँ र उपविजेता टिमले ५० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै, विधागत उत्कृष्ट खेलाडीहरुका लागि पनि पुरस्कारको व्यवस्था गरिएको छ ।