हेटौँडाः विभिन्न घटनामा एकै दिन ६ जनाको मृत्यु भएको छ । चितवनमा एकै दिन ५ जनाको मृत्यु भएको छ भने सिन्धुलीमा एक जना मृत फेला परेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ । चितवन जिल्लाको राप्ती नगरपालिका–७, वीरेन्द्रनगरमा मोटरसाइकल अनियन्त्रित भई ट्याक्टर र ट्रकमा ठोकिँदा मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा महोत्तरी जिल्ला शम्शि गाउँपालिका–४ बस्ने २१ वर्षीय रूपेश पण्डित रहेको प्रहरीले जानकारी दिएको छ ।
बिहीबार भण्डाराबाट भरतपुरतर्फ जाँदै गरेको प्र २–०२–००५ प १३९९ नम्बरको मोटरसाइकल विपरित दिशाबाट आउँदै गरेको ना ३ त २८७२ नम्बरको ट्याक्टरमा ठोकिई अनियन्त्रित भई भरतपुरतर्फ जाँदै गरेको ना ६ ख १५७७ नम्बरको ट्रकमा ठोकिँदा मोटरसाइकल चालक महोत्तरी जिल्ला शम्शि गाउँपालिका–४ का २४ वर्षीय दिपेन्द्र पण्डित र पछाडि सवार रूपेश घाईते भएका थिए । घाइते रुपेशलाई उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको र दिपेन्द्रकोे नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ । ट्रक चालक हेटौँडा–३, का ३२ वर्षीय कृष्ण प्रसाद दुलाल र ट्र्याक्टर चालक चितवन जिल्लाको राप्ती नगरपालिका–६ का ३१ वर्षीय सरोज चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
चितवन जिल्लाको खैरहनी नगरपालिका–१, साईचोकमा एक जना युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा पश्चिम नवलपरासी जिल्लाको बर्दघाट कुकुरमारा घर भई हाल साईचोक स्थितमा अटो वर्कसपमा काम गर्ने २५ वर्षीय लक्षु शर्मा रहेको प्रहरीले जानकारी दिएको छ । बिहीबार बिहान १० बजेको समयमा शर्मा गाडी धुने क्रममा अचानक बेहोस भएका थिए । शर्मालाई उपचारका लागि भरतपुर सरकारी अस्पताल लगिएकोमा बिहीबार बिहान ११ बजेर ४० मिनेटको समयमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
चितवन जिल्लाको भरतपुर महानगरपालिका–११, नवजिवन टोलमा एक जना महिला मृत फेला परेकी छन् । मृत फेला पर्नेमा ४६ वर्षीया गंगा कुमाल रहेको प्रहरीले जानकारी दिएको छ । बुधबार बेलुका घरमै सुतेकी कुमाल बिहीबार अबेरसम्म नउठेपछि छोरीहरुले उठाउन जाँदा सुतेको ठाउँमा नै मृत फेला परेको प्रहरीले जानकारी दिएको छ ।
चितवन जिल्लाको भरतपुर महानगरपालिका–१६, ज्ञानेश्वर सामुदायिक वन पछाडी एक जना बालक मृत फेला परेका छन् । मृत फेला पर्नेमा भरतपुर महानगरपालिका–११, होपचोक बस्ने १२ वर्षीय मिनोज श्रेष्ठ रहेको प्रहरीले जानकारी दिएको छ । बिहीबार नारायणी नदीमा श्रेष्ठ मृत अवस्थामा फेला परेका थिए ।
यस्तै, चितवन जिल्लाको भरतपुर महानगरपालिका–१, जोरकुशुम पार्कमा नारायणी नदी किनारको छेउमा एक जना पुरुषको शव फेला परेको छ । बिहीबार बिहान ७ बजेर ४५ मिनेटको समयमा हाल नाम थर नखुलेको अन्दाजी ४५ वर्षीय पुरुषको शव सडेर गलिसकेको अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ ।
सिन्धुली जिल्लाको गोलन्जोर गाउँपालिका–६, हैबारबेशीमा एकजना पुरुष मृत फेला परेका छन् । मृत फेला पर्नेमा रामेछाप जिल्ला रामेछाप नगरपालिका–८ लामाटोल घर भई हाल हैबारबेशिमा डेरा गरी बस्ने ५२ वर्षीय बद्रीप्रसाद लामा रहेको प्रहरीले जानकारी दिएको छ । लामा बिहीबार बिहान ७ बजेको समयमा आफु सुत्ने कोठामा मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ ।