हेटौंडाः हेटौंडा उमहानगरपालिका १० नम्बर वडा कार्यालयले वडाभित्र शैक्षिक क्षेत्रको विकास गर्ने उद्देश्यले शैक्षिक सुधार समिति गठन गरेको छ । बिहीबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै गत माघ ९ गते वडा–१० मा सम्पूर्ण शैक्षिक संस्थाको क्षमता अभिवृद्धि गर्दै विभिन्न विद्यालयहरुले प्रदान गरेको शिक्षालाई सुलभ, स्तरीय र मर्यादित बनाउन समिति गठन गरेको जानकारी दिइएको छ ।
वडा अध्यक्ष फुर्वा दोर्जे लामाको संयोजकत्वमा १४ सदस्यीय समिति गठन गरिएको बताइएको छ । समितिको सहसंयोजकमा ईन्द्र नेपाल र सदस्यसचिवमा राम तिमल्सिनालाई तोकिएको छ । वडामा शैक्षिक क्षेत्रको विकासका लागि गठन गरिएको समितिले कार्यविधि तयार गरेर नगरसभाबाट पारित गर्ने प्रक्रियामा रहेको वडा अध्यक्ष लामाले बताउनुभयो ।
समितिले वडाको ३० प्रतिशत बजेट शिक्षाको लागि छुट्याउने नीति लिएको बताउनुहुँदै वडा अध्यक्ष लामाले वडामा भएको ज्ञानदा माध्यमिक विद्यालय तथा संस्कृति वेद विद्यालयका लागि आवश्यक बजेट छुट्याउन सजह भएको जानकारी दिनुभयो । नेपाल सरकारले कक्षा–५ सम्मका विद्यार्थीहरुलाई प्रतिविद्यार्थी १५ रुपैयाँको दरले खाजा दिने गरेकोमा वडाले प्रतिविद्यार्थी १० रुपैयाँको दरले थप गरेको उहाँले बताउनुभयो ।
ज्ञानदा माध्यमिक विद्यालयमा प्राविधिक धार सञ्चालनका लागि विभिन्न निकायसँग जग्गाको लागि पहल गरिरहेको उहाँले बताउनुभयो । कक्षा ४ सम्म अंग्रेजी माध्यममा पढाइ भइरहेको ज्ञानदा माविमा आगामी वर्षदेखि ९ कक्षासम्मा अंग्रेजी माध्यमबाट पढाई हुने वातावरण सिर्जना गर्न वडाबाट सहयोग गर्ने उहाँको भनाइ छ ।
शिक्षकहरुलाई प्राभावकारी बनाउने उद्देश्यले विभिन्न अध्ययन भ्रमणमा प्रोत्साहन तथा सहयोग गर्ने वडा अध्यक्ष लामाले बताउनुभयो । ज्ञानदा मावि तथा संस्कृत वेद विद्यालयमा अध्ययन गराउने शिक्षकमध्ये उत्कृष्ट शिक्षकलाई पुरस्कृत गरिने उहाँले जानकारी दिनुभयो । माध्यमिक शिक्षा परीक्षा (एसईई)मा उत्कृष्ट अंक प्राप्त गर्ने विद्यार्थीका लागि वडा कार्यालयबाट छात्रवृत्ति प्रदान गर्ने उहाँको भनाइ छ ।