हेटौँडाः हेटौँडा उपमहानगरपालिका १५ नम्बर वडा खेलकुद विकास समितिको आयोजना तथा वडा कार्यालयको आर्थिक सहयोगमा जारी वडाअध्यक्ष कप फुटबल प्रतियोगिताको क्वार्टरफाइनल खेलमा वडा–९ लाई हराउँदै वडा–१५ सेमीफाइनलमा प्रवेश गरेको छ । हेटौंडा–६ स्थित गौरीटार रंगशालामा बिहिबार भएको पहिलो क्वार्टरफाइनल खेलमा वडा–९ लाई वडा १५ ले ७–० वडा गोलअन्तरले पराजित गरेको हो ।
वडा–१५ को तर्फबाट ऋषि मोक्तानले एक्लैले ४ गोल गर्न सफल भए । ४–० गोलको दवावमा परेको वडा–९ विरुद्ध विशाल भोलनले थप २ गोल गर्दै दवावलाई कायम बनाउन सफल भए । खेललाई बराबरीमा ल्याउने अवस्था नभएको समयमा अनिश मोक्तानले थप एक गोल गरे ।म्यान अफ द म्याच ऋषि मोक्तान घोषित भएका छन् ।
यस्तै बिहिबार नै भएको दोस्रो खेलमा वडा–१४ लाई टाइब्रेकरमा ४–२ गोलअन्तरले हराउँदै वडा–८ सेमीफाइनलमा प्रवेश गरेको छ । खेलको निर्धारित समयमा २–२ गोलको बराबरीमा रोकिएर नतिजाको लागि टाइब्रेकरको सहारा लिनु परेको थियो ।
वडा–८ बाट टाइब्रेकरमा वडा–८ का खेलाडी सुर्वण घलान, चिरञ्जीवी घिमिरे निराजन ढुंगाना र जर्सी नम्बर ७ का खेलाडीले प्रहार गरेको बल गोलमा परिणत भएको थियो । यता वडा–१४ बाट प्रताव थोकर र अनुप राना मगरको प्रहार गोलमा परिणत भएको थियो । यस्तै मनिष घलानको प्रहार गोलमा परिणत हुन सकेन । म्यान अफ द म्याच प्रशान्त देउला घोषित भएका छन् ।
प्रतियोगितामा हेटौंडा उपमहानगरपालिकम भित्रको १७ वटा वडाहरुको सहभागिता रहेको छ । प्रतियोगिताको उपाधि विजेता टिमले एक लाख रुपैयाँ र उपविजेता टिमले ५० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै विधागत उत्कृष्ट खेलाडीहरुका लागि पनि पुरस्कारको व्यवस्था गरिएको छ । प्रतियोगिताको फाइनल खेल आइतबार हुनेछ । प्रतियोगिता आयोजनाका लागि कबिर ११ लाख रुपैयाँको खर्च हुने अनुमान गरिएको छ ।