हेटौँडा–४ स्थित भुटनदेवी माविमा एसईईमा सहभागी विद्यार्थी । फाइल तस्वीर ।

हेटौँडाः बिहिबारबाट माध्यमिक शिक्षा परीक्षा (एसईई) सुरु भएको छ । पहिलो दिन बिहिबार अनिवार्य अंग्रेजी विषयको परीक्षा भएको छ । मकवानपुर जिल्लामा पाँच हजार नौं सय ७८ जना विद्यार्थी परीक्षामा सहभागी भएका छन् ।

शान्तिपूर्ण वातावरणमा परीक्षा सञ्चालन भएको शिक्षा विकास तथा समन्वय इकाई मकवाानपुरले जनाएको छ । परीक्षा फारम भरेकामध्ये एक सय १७ जना विद्यार्थी परीक्षामा अनुपस्थित रहेको शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरले जानकारी दिएको छ । बालसुधार गृहमा ५ जना र जिल्ला प्रहरी कार्यालयको हिरासत कक्षमा एक जना विद्यार्थी एसईईमा सहभागी भएको इकाईकी अधिकृत उन्नति ढकालले जानकारी दिनुभएको छ ।

शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरले मकवानपुुर जिल्लाका १ सय ३८ वटा विद्यालयका विद्यार्थीका लागि २६ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ । यस वर्ष मकवानपुरको राक्सिराङ गाउँपालिकामा पनि परीक्षा केन्द्र कायम गरिएको छ । मकवानपुर जिल्लाका १० वटा पालिका मध्ये कैलाश गाउँपालिकामा मात्रै परीक्षा केन्द्र निर्धारण गरिएको छैन ।