हेटौंडाः यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)को सम्पूर्ण तयारी पूरा भएको छ । भोलि बिहीबार बिहान ८ बजेदेखि देशभर एकैसाथ एसईई सुरु हुँदैछ । परीक्षा चैत १५ गते बिहीबारबाट सुरु भएर २७ गते मंगलबार सम्पन्न हुनेछ ।
मकवानपुर जिल्लाका सबै परीक्षा केन्द्रका लागि केन्द्राध्यक्ष नियुक्ति, सुरक्षा व्यवस्था, जनशक्ति परिचालन, प्रश्नपत्र र उत्तरपुस्तिका पुर्याउनेलगायतका सबै काम सकिएको छ । यसवर्ष मकवानपुर जिल्लाका एक सय ३८ विद्यालयबाट ६ हजार एक सय ५६ जना विद्यार्थीले एसईईको परीक्षा फारम भरेका छन् । मकवानपुर जिल्लामा एसईईका लागि २६ वटा परीक्षा केन्द्र रहेको छ ।
जिल्लाका सम्पूर्ण विद्यालयमा तयारी पूरा भएको विद्यालयहरुले जनाएका छन् । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–३, मक्रान्चुलीस्थित भानु माध्यामिक विद्यालयका प्रधानाध्यापक राजेन्द्र थापाले विद्यालयले सबै तयारी पूरा गरेको जानकारी दिनुभयो । विद्यालयबाट ४५ जना विद्यार्थीले परीक्षामा सहभागिता जनाउनेछन् । भानु मावि पालिकाकै उत्कृष्ट विद्यालय भएकाले सम्पूर्ण विद्यार्थीले उत्कृष्ट अंक ल्याउने लक्ष्यका साथ अघि बढेको थापाले बताउनुभयो ।
विद्यालयले एसईईका विद्यार्थीको लागि अभिभावकको समन्वयमा बिहान ६ बजेबाट राति १० बजेसम्म अतिरिक्त कक्षा सञ्चालन गरेको थियो । अतिरिक्त कक्षा ९ गतेसम्म सञ्चालन भएको थियो । विद्यालयले ३ वटा कक्षामा राखेर विद्यार्थीलाई अध्यापन गराएको थियो । कमजोर भएका विद्यार्थीलाई उत्कृष्ट नतिजाको लागि प्रेरित गरी अध्यापन गराइएको उहाँको भनाइ छ । गतवर्ष ३० जना विद्यार्थी परीक्षामा सहभागी भएकामा एक जना विद्यार्थीको ए प्लस, ३ जना विद्यार्थीको ए, १२ जना विद्यार्थीको बी प्लस आएको र अन्य विद्यार्थीले २ दशमलब ७८ जीपीए प्राप्त गरेका थिए । यसवर्ष सम्पूर्ण विद्यार्थीले राम्रो अंक ल्याउने उहाँले दावी गर्नुभयो ।
यस्तै, हेटौंडा उपमहानगरपालिका–४, कर्रास्थित श्रमिक माध्यमिक विद्यालयले पनि एसईई परीक्षाको तयारी पूरा गरेको विद्यालयका प्रधानाध्यापक श्रीराम दाहालले बताउनुभयो । विद्यालयबाट २७ जनाले परीक्षा दिँदैछन् । विद्यालयमा पारिवारिक आर्थिक अवस्था कमजोर भएका, अध्ययनमा कमजोर रहेका, अन्य विद्यालयले पठनपाठनका लागि छनोट नगरेका विद्यार्थीहरु अध्ययनरत रहेको बताउँदै विद्यार्थीहरुको अवस्था सुधारात्मक नै रहेको उहाँको भनाइ छ ।
विद्यार्थीलाई थप अध्ययनका लागि भदौबाट नै अतिरिक्त कक्षा सञ्चालन गरी अध्यापन गराउँदै आएको दाहालले बताउनुभयो । विद्यालयले विद्यार्थीमा पठनशैलीको विकास र परीक्षा तथा नतिजामा सुधार ल्याउन शनिबार परीक्षा सञ्चालन गर्दै अएकोसमेत उहाँले बताउनुभयो । गतवर्ष विद्यालयबाट ३ जनाले ए ग्रेड ल्याएका र सबै विद्यार्थीले कक्षा ११ अध्ययन गर्नसक्ने नतिजा हासिल गरेका थिए । श्रमिक माविका विद्यार्थीको परीक्षा केन्द्र सिद्धार्थ माविमा तोकिएको छ ।
पूर्वी मकवानपुरको बकैया गाउँपालिका–४, छतिवनस्थित महेन्द्र माध्यमिक विद्यालयले पनि आफ्नो तयारी पूरा भएको जनाएको छ । विद्यालयकी प्रधानाध्यापक देवकी सिग्देलका अनुसार प्राविधिकतर्फ ४१ जना र साधारणतर्फ ९८ जना गरी १३७ जना विद्यार्थी परीक्षामा सहभागी हुनेछन् । विद्यार्थीले परीक्षामा राम्रो नतिजा प्राप्त गर्ने बताउँदै विद्यालयले लिएको अभ्यास परीक्षामा राम्रो नतिजा आएको उहाँको भनाइ छ ।
गाउँपालिकाको उत्कृष्ट विद्यालयको रुपमा रहेको विद्यालयमा गतवर्ष २ जना विद्यार्थीको ए प्लस, ७ जना विद्यार्थीको ए र अन्य विद्यार्थीको पनि राम्रो नतिजा आएको थियो । तर, यसपालिको परीक्षामा विद्यार्थीले हरेक विषयमा ३५ प्रतिशत अंक प्राप्त गर्नुपर्ने भएकाले परीक्षाको नतिजामा केही फरक पर्नसक्ने उहाँले बताउनुभयो । विद्यालयमा परीक्षा केन्द्र पनि तोकिएकाले राष्ट्रिय परीक्षा बोर्डको निर्देशनअनुसार तयारी भइरहेको उहाँले जानकारी दिनुभयो । महेन्द्र माविका विद्यार्थीको परीक्षा केन्द्र भने बुद्ध मावि बकैया–३, हात्तीसँुडे तोकिएको छ ।
यस्तै, मकवानपुरको थाहा नगरपालिका–६ स्थित बज्रबाराही माविले पनि परीक्षाको तयारी पूरा भएको जनाएको छ । विद्यालयबाट ३६ जना परीक्षार्थीहरुले परीक्षा दिने विद्यालयका प्रधानाध्यापक रमेशकुमार डंगोलले बताउनुभयो । विद्यालयका विद्यार्थीहरुमा अध्ययन गर्ने बानीको अभाव भएकाले अपेक्षित नतिजा हासिल हुन नसक्ने उहाँले बताउनुभयो । विद्यालयले विद्यार्थीको परीक्षामा नतिजा राम्रो ल्याउन अतिरिक्त कक्षा सञ्चालनमा ल्याएको छ । उक्त विद्यालयका विद्यार्थीको परीक्षा केन्द्र सरस्वती बालबोधिनी मावि, मार्खु तोकिएको छ । उहाँले विद्यालयले लिएको अभ्यास परीक्षामा राम्रो नतिजा आएकाले अन्तिम परीक्षामा पनि राम्रो नतिजा आउने विश्वास व्यक्त गर्नुभयो ।
बज्रबाराही माविमा पनि परीक्षा केन्द्र तोकिएको छ । ७ वटा विद्यालयका २४० जना विद्यार्थीहरुले परीक्षा दिने बताउँदै परीक्षा केन्द्रको तयारी पनि पूरा भएको डंगोलले जनाकारी गराउनुभयो ।
यता, मनहरी गाउँपालिका–३, हाँडिखोलाको महेन्द्रज्योति माध्यमिक विद्यालयले पनि परीक्षाको तयारी पूरा भएको जनाएको छ । विद्यालयका २३ जना विद्यार्थीले परीक्षा दिने विद्यालयका प्रधानाध्यापक गोविन्द चौलागाईले जानकारी दिनुभयो । विद्यार्थीहरुको लागि विद्यालयले मंगलबारसम्म अतिरिक्त कक्षा सञ्चालन गरेर विदाई गरेको उहाँले बताउनुभयो ।
परीक्षामा सहभागी हुने परीक्षार्थीमा ५० प्रतिशत विद्यार्थी पास हुने अनुमान गरिएको उहाँले बताउनुभयो । गतवर्ष पनि परीक्षामा सामान्य नतिजा हासिल गरेको उहाँको भनाइ छ । गतवर्षको तुलनामा यसवर्ष केही सुधार आएको उहाँले जानकारी दिनुभयो । विद्यार्थीहरुको परीक्षा केन्द्र हेटौंडा–१९, बस्तीपुरस्थित निर्मल माविमा तोकिएको छ ।
यस्तै, बागमती गाउँपालिका–५, ज्यामिरेस्थित देवकी माध्यमिक विद्यालयले पनि परीक्षाको तयारी पूरा भएको जनाएको छ । विद्यालयबाट साधारणतर्फ ७२ जना, प्राविधिकतर्फ ३५ जना र ग्रेडवृद्धितर्फ २ जना गरी १ सय ९ जनाले परीक्षामा सहभागिता जनाउने विद्यालयका प्रधानाध्यपक चन्द्र थापाले जानकारी दिनुभयो । विद्यालयले विद्यार्थीको लागि मंगलबारसम्म नै अतिरिक्त कक्षा सञ्चालनमा ल्याएको थियो ।
ग्रामीण भेग भएकाले कमै विद्यार्थीले परीक्षामा उत्कृष्ट अंक प्राप्त गर्ने बताउँदै परीक्षामा ३५–४० प्रतिशत विद्यार्थीले उत्कृष्ट अंक प्राप्त गर्ने अनुमान गरिएको उहाँले जानकारी दिनुभयो । गतवर्ष ८० जना विद्यार्थी परीक्षामा सहभागी भएकामा ३० जना विद्यार्थीमात्र उत्तीर्ण भएका थिए ।