हेटौँडाः चितवनमा स्कुटर दुर्घटनामा एक जनाको मृत्यु हुँदा सिन्धुपाल्चोकमा एकजना र दोलखामा दुई जना मृत फेला परेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।
चितवन जिल्लाको भरतपुर महानगरपालिका–२१, विजयचोकमा स्कुटर आफैं अनियन्त्रित भएर पल्टिँदा स्कुटरचालकको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–१५, सूर्यनगर बस्ने २६ वर्षीय अनिश गुरुङ रहेको प्रहरीले जानकारी दिएको छ । शनिबार राती ११ बजेर ५० मिनेटको समयमा प्र ३–०३–००१ प १४४९ नम्बरको स्कुटर आफैं अनियन्त्रित भई दुर्घटना हुँदा स्कुटरचालक गुरुङ घाईते भएका थिए । घाइते गुरुङलाई उपचारका लागि नयाँ मेडिकल कलेज भरतपुर पठाइएकोमा उपचारको क्रममा सोमबार साँझ ७ बजेको समयमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
सिन्धुपाल्चोक जिल्लाको साँगाचोकगढी नगरपालिका–५, भिमसेन मन्दिर नजिकै एक जना वृद्धा मृत फेला परेकी छन् । मृत फेला पर्नेमा साँगाचोक नगरपालिका–५, सानोसिरुबारी बस्ने ८७ वर्षीया मनमाया मगर रहेको प्रहरीले जानकारी दिएको छ । मगर सोमबार साँझ ७ बजेर २० मिनेटको समयमा बजारबाट घर आउँदै गरेको अवस्थामा घर नजिकै भिमसेन मन्दिर सिढी बाटोमा घोप्टो अवस्थामा मृत फेला परेको प्रहरीले जानकारी दिएको छ ।
दोलखा जिल्लाको मेलुङ गाउँपालिका–७, सितली ज्यामिरेमा एक जना पुरुषको शव फेला परेको छ । सोमबार नाम थर नखुलेको पुरूष व्यक्तिको शव सडी गली हड्डी मात्र बाँकी रहेको अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ । मुचुल्का पश्चात पोष्टमार्टमका लागि पशुपती चौलागाई स्मृति अस्पताल चरिकोट लगिएको छ ।
दोलखा जिल्लाको भिमेश्वर नगरपालिका–२, तामाकोशी मरिण खोलामा एक जना महिला मृत फेला परेकी छन् । मृत फेला पर्नेमा गौरीशंकर गाउँपालिका–४, झ्याकु बस्ने ३१ वर्षीया लछि तामाङ रहेको प्रहरीले जानकारी दिएको छ । तामांङ गत बिहीबारदेखि आफ्नै घरबाट हराई बेपत्ता भएकी थिइन् । बेपत्ता तामाङको खोजी गर्दै जाँदा सोमबार बिहान ९ बजेको समयमा तामाकोशी नदीको बीचमा ढुङ्गा माथि फेला परेको प्रहरीले जानकारी दिएको छ ।