हेटौंडाः साहित्य संगम मकवानपुरले ३ सय ४१ औँ नियमित साहित्य सन्ध्याको अवसरमा ७ जना साहित्यकारलाई सम्मान गरेको छ । शनिबार साहित्य संगम मकवानपुरको सभाहलमा एक कार्यक्रमका बिच साहित्यकारहरुलाई संगमले विभिन्न विधाबाट सम्मानित गरेको हो ।

मकवानपुर जिल्लामा बसेर नेपाली साहित्य, कलाकारिता तथा अभियानको माध्यमबाट आफ्नो नाम परिचित गराउन सफल हुनुभएकोमा इन्द्रजित शर्मा चौलागाईंलाई मकवानपुर साहित्यश्री सम्मान २०८० बाट १५ हजार ५ सय ५५ रुपैयाँ नगद राशि सहित सम्मान गरिएको छ । विशाल अधिकारी आशुतोषले आफ्नो बुवाको नाममा स्थापना गर्नुभएको भेषनाथ अधिकारी स्मृति साहित्य सम्मान २०८० बाट साहित्यकार कल्पना काफ्लेलाई १५ हजार ५ सय ५५ रुपैयाँको नगद राशि र सम्मानपत्र सहित सम्मानित गरिएको छ ।

बालजागृति इंग्लिस बोर्डीङ स्कुलका प्रिन्सीपल विनोद सुवेदी र श्रीमती सुनिता सुवेदीले स्थापना गर्नुभएको विनोद–सुनिता सुवेदी २०८० बाट नगद राशि ११ हजार १ सय ११ रुपैयाँ र सम्मानपत्रले श्रीराम पाण्डेलाई सम्मान गरिएको छ । मकवानपुर जिल्लामा रहेर नेपाली साहित्यको क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै अमेरीका बसोबास गर्दै आउनुभएका दीपक मुडवरीले स्वर्गीय माता पिताको सम्झनामा स्थापना गर्नुभएको सुभद्रादेवी मदन मुडवरी स्मृति काव्य सम्मान २०८० बाट विश्वानथ सञ्जेललाई १० हजार १ रुपैयाँको नगद राशि सहित सम्मान गरिएको छ ।

मकवानपुर जिल्लामा लामो समयदेखि नेपाली गजल, मुक्तक, कविता लघुकथाको माध्यमबाट नेपाली साहित्यको क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै रामहरी देवी सम्मान २०८० बाट किशन पौड्याललाई १० हजार १ रुपैयाँको नगद राशि सहित सम्मान गरिएको छ । मकवानपुर जिल्लामा कविता काव्यसँगै संस्थागत योगदानको कदर गर्दै आँचल साहित्य कला पुञ्ज मकवानपुरकी अध्यक्ष भावना सापकोटालाई मंगलादेवी श्रेष्ठ स्मृति साहित्य सम्मान २०८० बाट १० हजार रुपैयाँको नगद राशि सहित सम्मान गरिएको छ । यस्तै नेपाली साहित्यको हास्यव्यङग्यको क्षेत्रमा पुर्याउनुभएको योगदानको कदर गर्दै सानुभाई विश्वकर्मालाई मुक्तितारा साहित्य सम्मानबाट १० हजार रुपैयाँको नगद राशि सहित सम्मान गरिएको छ ।