हेटौंडाः मकवानपुर जिल्ला ब्याडमिन्टन संघको आयोजनामा जिल्लास्तरीय ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ । शुक्रबारबाट हेटौंडा–११, थानाभर्याङको कभर्डहलमा सुरु भएको प्रतियोगिताको उद्घाटन हेटौंडा उपमहानगरपालिकाकी नगरप्रमुख मीनाकुमारी लामाले गर्नुभएको हो ।
प्रतियोगितामा खुला उमेर समूहमा करिब ४५ वटा र भेट्रान्सतर्फ १३ टिमको सहभागिता रहेको छ । पहिलो दिन क्वाटरफाइनल चरणसम्मको खेलहरु हुनेछ भने शनिबार सेमिफाइनल र फाइनल खेल हुनेछ ।
भेट्रान्सतर्फको उपाधि विजेता टिमले २० हजार रुपैयाँ र उपविजेता टिमले १५ हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने खुलातर्फको उपाधि विजेता टिमले ३० हजार रुपैयाँ र उपविजेताले २० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिता अवधिभरको २ जना उत्कृष्ट खेलाडीहरुलाई ५–५ हजार रुपैयाँको नगद राशिसहित पुरस्कृत गरिनेछ ।
यस्तै, प्रतियोगिता अवधिभरको २० वर्षभन्दा कम उमेर समूहका खेलाडीलाई वर्ष २०८० को उदीयमान खेलाडीको पुरस्कार प्रदान गरिने जनाइएको छ । प्रतियोगिता आयोजनाका लागि करिब ९ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । कार्यक्रमको उद्घाटन विष्णु घिमिरेको सभाध्यक्षतामा भएको हो । उद्घाटन कार्यक्रममा हेटौंडा उपमहानगरपालिका उपप्रमुख राजेश बानियाँ, वडा–११ की अध्यक्ष जुना दहाल र मकवानपुर जिल्ला तेक्वान्दो कार्यसमितिका अध्यक्ष लालकाजीरत्न बज्राचार्यको उपस्थिति रहेको थियो ।