हेटौंडाः मकवानपुरको कैलाश गाउँपालिकामा जारी दोस्रो संस्करणको कैलाशस्तरीय अध्यक्ष कप फुटबल प्रतियोगिताको फाइनल खेल शनिबार हुँदैछ । कैलाश–९ स्थित नामटारमा हुने फाइनल खेलमा उपाधिका लागि वडा नम्बर ५ र १० बीच प्रतिस्पर्धा हुनेछ ।
गत संस्करणको विजेता १० नम्बर र उपविजेता ५ नम्बर वडा यो संस्करणमा पनि फाइनलमा प्रवेश गरेको हो । दुई टिमबीचको खेल दिउँसो २ बजे सुरु हुनेछ । वडा नम्बर १० यस संस्करणमा पनि वडा ५ लाई हराएर उपाधि जित्ने दाउमा छ । वडा नम्बर ५ पनि साविकको विजेता १० नम्बरलाई हराएर उपाधि जित्ने दाउमा छ ।
शुक्रबार भएको पहिलो सेमिफाइनल खेलमा वडा नम्बर २ लाई १–० गोलले हराउँदै वडा नम्बर १० फाइनलमा प्रवेश गरेको हो । वडा नम्बर १० का लागि बुद्ध थिङले निर्णायक गोल गरे । यस्तै, शुक्रबार नै भएको दोस्रो सेमिफाइनल खेलमा वडा नम्बर ६ लाई २–१ गोलले हराउँदै वडा नम्बर ५ फाइनलमा प्रवेश गरेको हो । वडा नम्बर ५ को जीतमा प्रशान्त सिन्तानले दुई गोल गरे ।
प्रतियोगितामा वडा नम्बर १० ले वडा नम्बर ४ लाई हराउँदै क्वाटरफाइनल र १ नम्बर वडालाई हराउँदै सेमिफाइनमा प्रवेश गरेको थियो । यस्तै, वडा नम्बर ५ ले वडा ९ नम्बरलाई हराउँदै क्वाटरफाइनलमा र ८ नम्बर वडालाई हराउँदै सेमिफाइनलमा प्रवेश गरेको थियो । शनिबारको विजेता टिमले ७५ हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेता टिमले ५० हजार रुपैयाँमा चित्त बुझाउनेछन् ।