हेटौंडाः एकीकृत ग्रामीण विकास सेवा मकवानपुरले स्थानीय सरकारसँग बैठक र कार्यशाला गरेको छ । शुक्रबार संंस्थाकी अध्यक्ष सीता विष्टको सभाध्यक्ष तथा हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मीनाकुमारी लामाको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै नगर प्रमुख लामाले किसानहरुलाई व्यावसायिक बनाउन उपमहानगरपालिका लागिरहेको बताउनुभयो । यसका लागि उपमहानगरपालिकाले कृषि शाखामार्फत् बढी बजेट विनियोजन गरेको उहाँले बताउनुभयो । उहाँले बजारको मागलाई हेरेर किसानहरुले उत्पादन गर्नुपर्ने बताउनुभएको छ । किसानले आफ्नो लागि आफैंले उत्पादन गरेमा बजारमा किन्नुपर्ने अवस्था हट्ने र केही मात्रामा पैसा बचत हुने उहाँले बताउनुभयो । अहिले किसानहरुले उत्पादन गरेको ठाउँमा पुगेर आफूले पनि अवलोकन गरिरहेको भन्दै उहाँले कृषि उत्पादनमा विस्तारै सुधार हुँदै आइरहेको बताउनुभयो । उहाँले उपमहानगरपालिकाले कृषकहरुको उत्पादनको बजारीकरणलाई मध्यनजर गर्दै केही समयभित्रै कृषि थोक बजारको शुभारम्भ गर्ने बताउनुभयो ।
संस्थाकी अध्यक्ष विष्टले संस्थाले कृषिसँग जोडेर नर्वेजियन सरकारको आर्थिक सहयोगमा मकवानपुरमा पनि कार्यक्रम गरिरहेको बताउनुभयो । कार्यक्रमअन्तर्गत् मकवानपुरमा जैविक प्रवद्र्धनका कार्यहरु भइरहेको र आधुनिक तरिकाले खेती गर्दा उत्पादनमा वृद्धि भएको दाबी गर्नुभयो । उहाँले यस कार्यक्रमले किसानहरुलाई आर्थिक सशक्तिकरण गर्न भूमिका खेल्ने बताउनुभयो ।
कार्यक्रमकी संयोजक श्रद्धा शर्माले परियोजनाको बारेमा जानकारी गराउनुभयो । उहाँले समाजको आर्थिक अवस्थाको उत्थानका लागि विकल्प र अवसर प्रदान गर्दै दिगो र आत्मनिर्भर समाज निर्माण गर्ने लक्ष्य लिएको बताउनुभयो । महिला तथा पिछडिएका समूहलाई सीपमूलक तालिम प्रदान गरी स्वरोजगार बनाउने गरी काम गरिरहेको उहाँले बताउनुभयो । कार्यक्रमले ७ वर्षदेखि हेटौंडाका वडा नम्बर ८, १४, १५, १६, १७, १८ र १९ मा टनेलहरु बनाएर टमाटर उत्पादन गर्ने, एसआरआई प्रविधिबाट धान खेती, करेसाबारी नमुना प्रदर्शनी र विभिन्न कृषि समूहहरु बनाएर कार्यसम्पादन गर्ने कार्य गर्दै आइरहेको बताउनुभयो । परियोजनाबाट हालसम्म ३६ वटा कृषि समूहहरु हेटौंडा उपमहानगरपालिकामा दर्ता गरिसकेको र हालसम्म संस्थाबाट ६ सय जना कृषकहरु प्रत्यक्षरुपमा लाभान्वित भएको उहाँले बताउनुभयो ।
कार्यक्रममा सहभागी कृषकहरुले परियोजनाबाट आफूहरुलाई धेरै फाइदा भएको र खेती गर्ने तरिकाबारे जानकारी पाएको बताएका छन् । किसानले उत्पादन गरेको तरकारीको उचित मूल्य पाउनेगरी हरेक वडामा तरकारी केन्द्र राख्न र बिमा गरिदिन किसानहरुले आग्रह गरेका थिए । कार्यक्रममा हेटौंडा १५ का वडाध्यक्ष सुनिल मोक्तान र १८ नम्बर वडाका वडाध्यक्ष अनिल बानियाँको पनि आतिथ्य रहेको थियो ।