हेटौंडा उपमहानगरपालिका ।

हेटौँडाः हेटौँडा उपमहानगरपालिकाले नगरप्रहरी सञ्चालन तथा व्यवस्थापन सम्बन्धी कानुन निर्माण गर्ने भएको छ । हेटौँडा उपमहानगरपालिकाको शुक्रबार सम्पन्न नियमित कार्यपालिका बैठकले नगरप्रहरी सञ्चालत तथा व्यवस्थापन सम्बन्धी कानुन निर्माण गर्न सैद्धान्तिक सहमति प्रदान गर्ने निर्णय गरेको छ ।

हेटौँडा उपमहानगरपालिकाले सोमबार सार्वजनिक गरेको कार्यपालिका बैठकको निर्णयअनुसार एचआइभी संक्रमित सहयोग सम्बन्धी मापदण्ड–२०७८ को पहिलो संशोधन–२०८० लाई स्वीकृत गर्ने निर्णय गरेको छ । मापदण्डमा गरिएको संशोधनको विषयमा पनि उपमहानगरपालिकाले खुलाएको छैन । यस्तै कार्यपालिका बैठकले उपमहानगरको नीतिअनुरुप आर्थिकरुपमा विपन्नलाई स्वास्थ्य बीमाका लागि पेश भएको नामावली स्वीकृत गर्ने निर्णय भएको जनाएको छ । तर, कति परिवारको स्वास्थ्य बीमा गर्ने भन्ने स्पष्ट पारिएको छैन ।

कार्यपालिका बैठकले भुटनदेवी इन्जिनियरिङ क्याम्पस सम्बन्धन प्राप्त गर्न तथा सञ्चालन गर्न विनियोजन गरिएको ७० लाख रुपैयाँ स्थानीय सञ्चित कोषमा फिर्ता गर्ने निर्णय गरेको छ । उपमहानगरले प्राथमिकतामा राखेको भन्दै आए पनि इन्जिनियरिङ क्याम्पस सञ्चालनका लागि विनियोजित बजेट फिर्ता लिइएको छ । बैठकमा उपमहानगरको चालु आर्थिक वर्षको हालसम्मको प्राप्त आएको विवरणबारे जानकारी गराइएको थियो । हेटौँडा उपमहानगरपालिकाको आर्थिक शाखाका अधिकारीका अनुसार चालु आर्थिक वर्षमा अनुमानित २६ करोड रुपैयाँ भन्दा बढी रकम कम आम्दानी हुने विवरण प्रस्तुत गरिएको जानकारी दिइएको छ ।

शुक्रबारको कार्यपालिका बैठकले अटो, इ–रिक्सा सवारी साधन सम्बन्धी कार्यविधि–२०८० स्वीकृत गर्ने निर्णय गरेको छ । हेटौँडा–११ मा प्रस्तावित अटो भिलेजसम्म जाने बाटो मर्मत तथा निर्माणका लागि ५० लाख रुपैयाँ बजेटको योजना कार्यान्वयन गर्ने निर्णय गरेको छ ।

प्रेस-नोट_कार्यपालिका-निर्णय