हेटौंडाः फागुन महिनामा हेटौंडाका २ सय २४ जनाले रक्तदान गरेका छन् । फागुन महिनामा विभिन्न संघसंस्थाले गरेको रक्तदान कार्यक्रममा सहभागी भएर तथा रक्तसञ्चार केन्द्रमा नै गएर रक्तदान गरेका हुन् ।
फागुन एक महिनामा ५७ जना महिला र १ सय ६७ जना पुरुषले रक्तदान गरेको रक्तसञ्चार केन्द्र हेटौंडाका प्राविधिक विष्णुप्रसाद रिमालले जानकारी दिनुभयो । हेटौंडा–१ स्थित रक्तसञ्चार केन्द्रको प्राविधिक सहयोगमा विभिन्न संघसंस्थाले रक्तदान कार्यक्रम गर्दै आएका छन् ।
फागुन महिनामा ८ वटा संस्थाले रक्तदान कार्यक्रम आयोजना गरेका थिए । फागुन ६ गते रोटरी क्लब अफ हेटौंडाले रक्तदान कार्यक्रम गरेको थियो । यस्तै, ७ गते मनकामना टोल विकास संस्था, १२ गते हेटौंडा–७ स्थित नेपाल तरण दल र १५ गते अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा अखिल नेपाल महिला संघ जिल्ला समिति मकवानपुरले रक्तदान कार्यक्रम गरेको हो । यसतै, फागुन २३ गते चुरेशिखर कृषि सहकारी संस्था लिमिटेड र २६ गते नेपाल स्वयम्सेवी रक्तदाता समाज हेटौंडाको आयोजनामा रक्तदान कार्यक्रम भएको थियो ।
फागुन महिनामा रक्तदान गरेका २ सय २४ जनामध्ये ३१ जनाले केन्द्रमै पुगेर रक्तदान गरेको रिमालले जानकारी दिनुभयो । केन्द्रले संकलन गरेकोमध्ये धेरै रगत हेटौंडा अस्पतालमा वितरण गरेको छ । रिमालका अनुसार अहिलेको समयमा एबी पोजेटिभ रगतको अभाब रहेको छ । रक्तसञ्चार केन्द्रमा दैनिक ७–८ जना ब्लड गु्रप जाँच गर्न आउने गरेका छन् ।