हेटौंडास्थित अञ्चल आयुर्वेद कार्यालयले आइसोलेसन र क्वारेन्टाइनमा रहेकालाई प्रतिरक्षा शक्ति बढाउने औषधी वितरण गर्दै आएको छ । कोरोनाको कुनै औषधि नबनेको अवस्थामा रोगबाट छुटकारा पाउन धेरै उपायहरु अबलम्वन गर्नु आवश्यक छ । त्यस मध्ये सबैभन्दा उत्तम् विधी व्यक्ति स्वयम्को आचारण हो । विश्वका धेरै देशले कोरोना विरुद्धको खोप अनुसन्धान गरिरहेका छन् तर सफलता प्राप्त गर्न सकेका छैनन् । कतिपय वैज्ञानिकहरुले अबको डेढ वर्षसम्म औषधि उत्पादन हुने दावी गरेका छन् । त्यसैले अहिले जसलाई कोरोना भाइरस लाग्दछ उसले आफ्नै प्रतिरोधात्मक क्षमताका आधारमा विजय पाउनुको विकल्प छैन । कोरोनाको औषधि नभए पनि व्यक्तिको रोगप्रतिरोधी क्षमता विकास गर्न एलोपेथी तथा आयुर्वेदिक औषधिहरु धेरै छन् । त्यसमा पनि मानिसको आहार विहारले ठूलो भूमिका खेल्दछ ।

आयुर्वेद कार्यालयले हेटौंडाका आइसोलेसन र क्वारेन्टाइनमा रहेका व्यक्तिसँगै त्यहाँ खटिएका कर्मचारी र स्वास्थ्यकर्मीलाई प्रतिरक्षा शक्ति बढाउने औषधी वितरण गरेको छ । यस्तै योग शिक्षा तथा नियमित योगाभ्यास समेत गर्न प्रेरित गरिरहेको छ । घरेलु औषधि वा जडीबुटीको प्रयोगलाई आधुनिक समाजले सहजै पचाउन सक्दैन । त्यस माथि आफ्नै भान्सा नै औषधालय हो भन्ने कुरामा विश्वास गर्ने हो भने प्रधानमन्त्रीले दिएको व्यवहारिक सुझाव माथि अनेक व्यंग्य आवश्यक नै छैनन् । कोरोनासँग सम्बन्धित अनियमिततादेखि क्वारेन्टाईन व्यवस्थापन, उपचार, स्वास्थ्यकर्मीका लागि सुरक्षा उपकरण लगायत समयमै व्यवस्थापन किन भएन भन्ने प्रश्नको जवाफ प्रधानमन्त्रीबाट खोजिएको थियो । तर महत्वपूर्ण विषयलाई पन्छाउँदै डाक्टरहरु मार्फत दिईनु पर्ने सुझाव प्रधानमन्त्रीबाट आएपछि व्यङ्ग्य भएको देखिन्छ । तर अहिले भईरहे जस्तो भाईरल नै बन्नु पर्ने विषय हुँदै होईन ।

आयुर्वेद कार्यालयले अश्वगन्धा चूर्ण, गुयी चूर्ण, सितोपलादि चूर्ण र यष्टिमधु चूर्ण वितरण गरिरहेको छ । औषधालयमै गएर लिनुपर्ने वा डाक्टरहरुले नै दिनु पर्ने प्रकृतीका औषधि यी हैनन् । व्यक्ति स्वयम्ले आफ्नै घरमा बनाउन सक्छौं । तर आफ्नै वरपर रहेका औषधीय वनस्पती चिन्न सकिरहेका छैनौं । त्यसैले हेटौंडास्थित आयुर्वेद कार्यालयले दोस्रो चरणमा समेत वितरण गरेको हो । पहिलो चरणमा यसको उपयोगिता कति भयो भन्ने कुराको पनि तथ्यांक राखिनु पर्दछ । आईसोलेसनमा बसेकाहरुलाई प्रभावकारी भएमा अन्य नागरिकले पनि यसको उपयोग गर्न सक्ने छन् । तर यसको उत्पादन र प्रयोग विधिका सम्बन्धमा पर्याप्त जानकारी गराउन आवश्यक छ । मानिसको शरीरमा प्रतिरक्षा शक्ति कमजोर भएमा अन्य सबै प्रकारका रोगले छिटै आक्रमण गर्ने छ । त्यसैले पनि शक्ति आर्जन गर्नु सबै नागरिकको आवश्यकता हो ।

मानिसको शरीरमा रोग प्रतिरोधि क्षमता बढाउन खानपिनका अतिरिक्त क्रियाकलाप पनि महत्वपूर्ण तत्व हो । त्यसैले आयुर्वेद कार्यालयले आईसोलेसनमा रहेकाहरुलाई योग अभ्यास पनि गराउँदै आएको छ । योग वैद्धिक विधि हो । योग अभ्यासका क्रममा गरिने शारीरिक व्यायामदेखि स्वास प्रश्वास सम्बन्धी अभ्यासले रोग प्रतिरोधि क्षमता विकास हुनेमा कुनै शंका छैन । आन्तरिक र बाह्य दुवै पक्ष सक्षम भएपछि रोगले आक्रमण नै गर्दैनन् र यदि कुनै रोग लागेमा छिटो निको हुन सहयोग पुग्ने छ । त्यसैले आयुर्वेद कार्यालय हेटौंडाले गरेको प्रयास अत्यन्त सराहनीय छ । योग अभ्यासका लागि विशेषगरी पतञ्जली नेपाल संस्थाको सक्रियता अझ अपेक्षित हुन सक्छ ।