हेटौंडाः मकवानपुरको भीमफेदी गाउँपालिकास्थित इलाका प्रहरी कार्यालय भीमफेदीका इन्चार्ज प्रहरी निरीक्षक रामबालक रायलाई बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाबाट खटिएको विशेष टोलीले घुस रकमसहित नियन्त्रणमा लिएको छ । शनिबार दिउँसो ३ बजेको समयमा बागमती प्रदेश प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले भीमफेदी–६ स्थित सगरमाथा होटेलमा निर्माण व्यवसायीसँग १२ हजार रुपैयाँ घुस रकम लिँदै गरेको अवस्थामा नियन्त्रणमा लिएको हो ।

बागमती प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) बसन्त कुमार लामाले प्रहरी निरीक्षक रामबालक रायको विषयमा पटक–पटक गुनासा आएकोले प्रहरीले निगरानी बढाएको र शनिबार रंगेहात पक्राउ गरिएको जानकारी दिनुभयो । प्रदेश प्रहरी कार्यालयले आवश्यक प्रक्रिया पूरा गरी प्रहरी निरीक्षक रायलाई भ्रष्टाचार मुद्दा हेर्ने सम्बन्धित निकायमा बुझाउने डीआईजी लामाले जानकारी दिनुभएको छ ।

२०७६ साल साउन महिनादेखि इलाका प्रहरी कार्यालय भीमफेदीको इन्चार्जको जिम्मेवारी पाएको रामबालक रायले भीमफेदी क्षेत्रका व्यवसायी, निर्माण व्यवसायी, सवारी साधन, होटल, जुवा खालबाट नियमित असुली गर्ने गरेको एक स्थानीयले जानकारी दिए । प्रहरी संगठनभित्र हुने अनियमिततालाई रोक्न प्रदेश प्रहरी कार्यालयले विशेष निगरानी गर्ने डीआईजी लामाले स्पष्ट पार्नुभएको छ ।