हेटौँडाः हेटौँडा उपमहानगरपालिकाले कक्षा ८ को वार्षिक परीक्षा आइतबारबाट सञ्चालन गरेको छ । आइतबार पहिलो दिन अनिवार्य गणित विषयको परीक्षा भएको छ । गणित विषयको प्रश्नपत्रमा गम्भीर त्रुटी भएको पाइएको छ । ५० पूर्णाङ्कको प्रश्नपत्र निर्माण गर्नुपर्नेमा ४७ अंकको मात्रै प्रश्न समावेश गरिएको छ ।
भुटनदेवी माविमा कक्षा–८ मा अध्ययनरत छात्रा भाषिका कोइरालाले ५० पूर्णाङ्कको परीक्षा भनिए पनि प्रश्नपत्रमा पूर्णाङ्क ४७ मात्रै रहेको जानकारी दिनुभयो । भाषिकाले पूर्णाङ्क बराबरको प्रश्नपत्र तयार नपारिएको अभिभावकलाई जानकारी गराउनुभएको हो । भाषिकाकी बुबा वेदराज कोइरालाले भन्नुभयो, “छोरीले परीक्षा दिएर आएपछि पूर्णाङ्क बराबरको प्रश्नपत्र तयार नभएको भनी बताइन् । जोडेर हेर्दा ४७ अंक मात्रै पुगेको पाइयो । भुटनदेवी माविकै शिक्षक समेत रहनुभएका कोइरालाले प्रश्नपत्र पनि विशिष्टीकरण तालिका (ग्रेड) अनुरुप नभएको बताउनुभयो ।
यस्तै मकवानपुरगढी गाउँपालिकाको प्रश्नपत्रमा हेटौँडा उपमहानगरपालिकाको ठेगाना उल्लेख गरिएको पाइएको छ । पालिकास्तरीय परीक्षामा यस किसिमको त्रुटीलाई लिएर आइतबार साँझदेखि सामाजिक सञ्जालमा व्यापक आलोचना भइरहेको छ । दिनको १ बजेबाट परीक्षा सञ्चालन गरिएको थियो । कक्षा–८ को वार्षिक परीक्षा चैत १० गतेसम्म सञ्चालन हुनेछ ।
हेटौँडा उपमहानगरपालिकाका ८१ वटा विद्यालयका चार हजार तीन सय एक जना विद्यार्थीले परीक्षा फारम भरेका थिए । पहिलो दिन कति विद्यार्थी परीक्षामा सहभागी भए भन्ने विवरण हेटौँडा उपमहानगरपालिकाको शिक्षा विकास महाशाखाले उपलब्ध गराउन सकेको छैन । महाशाखा प्रमुख हरिचन्द्र सापकोटाले परीक्षामा सहभागी विद्यार्थीको विवरण विद्यालयबाट संकलन गरी एकीकृत गर्न जनशक्ति अभाव भएको उहाँको भनाइ छ ।
कक्षा–८ को वार्षिक परीक्षामा हेटौँडा–४ स्थित आधुनिक राष्ट्रिय माविबाट सबैभन्दा बढी तीन सय २९ जना विद्यार्थीले फारम भरेका छन्् । कक्षा–८ को परीक्षा तालिका र सञ्चालन विधिका विषयमा विद्यालयका प्रधानाध्यापकहरुसँगको बैठकमा दुईवटा महत्वपूर्ण पक्षमा छलफल भएको थियो । एउटा समूहले फरक विद्यालयमा परीक्षा केन्द्र तोकेर परीक्षा सञ्चालन गर्ने र परीक्षा चैत दोस्रो सातादेखि सञ्चालन गर्ने प्रस्ताव गरेका थिए । तर, अर्को समूहले परीक्षा सञ्चालन चैत पहिलो साताबाटै सुरु गर्नुपर्ने, आफ्नै विद्यालयमा परीक्षा दिने व्यवस्था हुनुपर्ने माग राखेका थिए । हेटौँडाका सामुदायिक विद्यालयमा वार्षिक परीक्षा चैतको पहिलो सातामै सुरु भएको छ भने निजी विद्यालयले चैत १६ गतेबाट सञ्चालन गर्दैछ । यस वर्षको एसईई चैत १५ गतेबाट सुरु हुँदैछ ।