हेटौंडाः हेटौंडा उपमहानगरपालिका–२, मानसचोकमा रहेको साहारा किस्ताबन्दी कार्र्यक्रमका सञ्चालक बचतकर्ताको रकम हिनामिना गरेर फरार भएका छन । २०५८ सालबाट सञ्चालनमा रहेको उक्त संस्थाका सञ्चालक हेटौंडा–८, ओमनगरका सरोज थापा सम्पर्कविहीन भएका हुन् ।

झण्डै ५ सय ५० जना सदस्य रहेको संस्थामा २ करोडको कारोबार रहेको संस्थामा कार्यरत कर्मचारीहरुले जानकारी दिएका हुन् । संस्थाका सञ्चालक थापाले गत बुधबारबाट संस्था बन्द गरेर सम्पर्कमा नरहेको कर्मचारीहरुले जानकारी दिएका छन् ।

हेटौंडा र भीमफेदीमा कारोबार गर्दै आएको उक्त संस्थामा ४ जना कर्मचारीहरु रहेका छन् । संस्थामा केवल थापा, गंगा अधिकारी, अनिता महतलगायत कर्मचारीले भीमफेदी र हेटौंडा बजार क्षेत्रमा संस्थाको तर्फबाट रकम संकलन गर्दै आएका हुन् ।

धेरै दिनसम्म कार्यालय नखुलेपछि संस्थाका कर्मचारीहरुले सम्पर्क गर्न खोज्दा संस्थाका सञ्चालक सरोज थापा र उनको श्रीमती बिना पौडेल सम्पर्कमा नआएको बताएका छन् । सञ्चालक सम्पर्कमा नआएपछि बचतकर्ताको दबावपश्चात् कर्मचारीहरुले गत फागुन २९ गते जिल्ला प्रशासन कार्यालय मकवानपुर र जिल्ला प्रहरी कार्यालय मकवानपुरमा निवेदन दिएकोसमेत कर्मचारीले जानकारी दिएका छन् ।