हेटौंडाः राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले मकवानपुरमा जनआन्दोलन परिचालन समिति गठन गरेको छ । शनिबार राप्रपा मकवानपुरको कार्यवाहक अध्यक्ष सागर थापाको अध्यक्षतामा ५११ सदस्यीय आन्दोलन परिचालन समिति गठन भएको हो ।
केन्द्रीय निर्देशनअनुसार आन्दोलन परिचालन समिति गठन भएको थापाले जानकारी दिनुभयो । राप्रपाले स्थानीय तहदेखि केन्द्र तहसम्म नै आन्दोलनको घोषणा गरेको छ । राप्रपाले बिग्रँदो अर्थतन्त्र, बेरोजगारी, आर्थिक मन्दी, युवा शक्तिको विदेश पलायन, भष्ट्राचारलगायतका जनजीविकाका मुद्दा उठाएर आन्दोलन गर्न लागेको हो । त्यस्तै, राजसंस्था, सर्वधर्म समभाव पूर्ण धार्मिक स्वतन्त्रतासहितको वैदिक सनातन धर्मसापेक्ष हिन्दू राष्ट्र पुनः स्थापना र प्रदेश तहको खारेजीका लागि दबाब सिर्जना गर्न आन्दोलन गर्ने निर्णय गरेको हो ।
राप्रपाले चैत १६ गतेदेखि केन्द्रमा जनआन्दोलन गर्ने घोषणा गरेको थियो । तर राष्ट्रिय परीक्षा बोर्डले एसईई परीक्षाको तालिका सार्वजनिक गरेपश्चात् आन्दोलनको मिति सारेर चैत २७ गते पु¥याएको हो । मकवानपुरका १०२ वटा वडामा संयोजक नै तोकेर आन्दोलन परिचालन समिति गठन भएको छ ।
वडाको समितिले ६ गतेदेखि आन्दोलन सुरु गर्नेछ । हरेक वडामा आन्दोलन गरिने थापाले जानकारी दिनुभयो । राप्रपा मकवानपुरले स्थानीय तहहरुमा आमसभा गरी चैत २२ गते हेटौंडामा अन्तिम जिल्लास्तरको आन्दोलन गर्ने जनाएको छ । आन्दोलनमा राप्रपाका केन्द्रीय सदस्यहरु रामहरि न्यौपाने, नवराज विष्ट, रामबहादुर थोकर र पार्टीका प्रदेश सचिव गुञ्जनबहादुर न्यौपानेले सहभागिता जनाउनेछन् ।