नगर कमिटीका अध्यक्षसहित पदाधिकारी ।

हेटौंडाः राष्ट्रिय युवा संघ नेपाल हेटौँडा उपमहानगरपालिका कमिटीको अध्यक्षमा अनिल काफ्ले चयन हुनुभएको छ । शनिबार हेटौंडामा भएको युवा संघ नगर कमिटी भेलाले काफ्लेको अध्यक्षतामा ४५ सदस्यीय नयाँ कमिटी गठन गरेको हो । नगर कमिटीको उपाध्यक्षमा गोविन्द नेगी, सचिवमा अर्जुनप्रसाद दुलाल, उपसचिवमा सचिन राई र मनिषा राई एवम् कोषाध्यक्षमा विज्ञान नेपाल सर्वसम्मत चयन भएका छन् ।

कार्यक्रमको सभाध्यक्ष राष्ट्रिय युवा संघ हेटौँडा उपमहानगरपालिका कमिटीका निवर्तमान अध्यक्ष एवम् मकवानपुर संयोजक राजेश नगरकोटी रहनुभएको थियो । भेलामा राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय कमिटी उपाध्यक्ष महाराज गुरुङको प्रमुख आतिथ्य थियो । कार्यक्रममा नेकपा एमाले मकवानपुर अध्यक्ष एका लाल श्रेष्ठ, राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय कमिटी लेखा आयोग संयोजक सन्तोष चौलागाईंको विशिष्ट आतिथ्य रहेको थियो । भेलामा राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय सदस्य एवम् मकवानपुर इन्चार्ज लक्ष्मण उप्रेतीलगायतको आतिथ्य रहेको थियो ।