शिविरमा स्वास्थ्य परीक्षण गरिँदै ।

हेटौँडाः सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र, हेटौँडा–११, थानाभर्याङको आयोजनामा भएको निःशुल्क स्वास्थ्य शिविरमा ३३१ जनाले सेवा लिएका छन् । शनिबार भएको शिविरमा ३३१ जनाको स्वास्थ्य परीक्षण भएको सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष देवकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

शिविरमा अर्थोपेडिक, बालरोग, फिजिसियन सेवा, जनरल सर्जन, स्त्रीरोग, एनेस्थेसिया सेवा प्रदान गरिएको थियो । शिविरमा मकवानपुर सहकारी अस्पतालका डा. सुन्दर श्रेष्ठ, डा. हरिबहादुर खड्का, डा. कमल दवाडी र डा. राघवेन्द्र ठाकुरले स्वास्थ्य जाँच गर्नुभएको थियो । शिविरमा बालबालिका र ज्येष्ठ नागरिक रोगमा स्वास्थ्य समस्या देखिएको पाइएको थियो । शिविरमा बिरामीहरुको स्वास्थ्य परीक्षणसँगै निःशुल्क औषधीसमेत वितरण गरिएको थियो ।

सामुदायिक सेवा केन्द्र थानाभर्याङका अध्यक्ष देवकुमार श्रेष्ठको अध्यक्षता तथा बागमती प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव महानिरीक्षक विष्णुकुमार केसीको प्रमुख आतिथ्यमा शिविर सञ्चालन भएको हो । कार्यक्रममा हेटौँडा उपमहानगरपालिका २ नम्बर वडा अध्यक्ष विष्णुगोपाल महर्जन, वडा नम्बर ११ की अध्यक्ष जुना दाहाल, वडा सदस्य विकास नेपाल, सञ्जु बिडारी, गोपिनी सापकोटा, ट्राफिक प्रहरी निरीक्षक वसन्त आचार्यलगायतको आतिथ्य रहेको थियो ।