हेटौँडाः हेटौँडा–२ स्थित सिद्धार्थ माविको प्रधानाध्यापकमा परमानन्द सरोज कर्ण नियुक्त हुनुभएको छ । आइतबार बिहान बसेको विद्यालय व्यवस्थापन समितिको बैठकले कर्णलाई प्रधानाध्यापक नियुक्त गर्ने निर्णय गरेको हो । बैठकमा वडा प्रतिनिधिको रुपमा वडाअध्यक्ष विष्णुगोपाल महर्जनको पनि उपस्थिति रहेको थियो ।
मावि द्वितीय श्रेणीको ज्येष्ठ शिक्षकको रुपमा रहनुभएका कर्णलार्ई प्रधानाध्यापक नियुक्त गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बलराम घिमिरेले जानकारी दिनुभयोे । अंग्रेजी विषयको मावि तहको शिक्षकको रुपमा ३० वर्षदेखि कार्यरत कर्ण २५ वर्षदेखि सिद्धार्थ माविमै अध्यापन गर्दै आउनुभएको छ । यसअघिका प्रधानाध्यापक मोहन प्रसाद शर्माले अनिवार्य अवकास पाउनुभएको थियो ।
कर्णले २०५३ सालमा धानुषा जिल्लाको जनकपुरस्थित बीपी कोइराला क्याम्पसबाट स्नातक तह उत्तीर्ण गर्नुभएको थियो भने २०६३ सालमा हेटौँडा स्कूल अफ म्यानेजमेन्टबाट स्नात्तकोत्तर तह उत्तीर्ण गर्नुभएको छ । नवनियुक्त प्रधानाध्यापक कर्णले विद्यालयलाई बालमैत्री घोषणा गर्ने, नगरपालिका अगाडिकै विद्यालयलाई नमूनाको रुपमा विकास गर्ने, काठमाडौं महानगरका प्रमुखले सञ्चालन गर्नुभएको बुक फ्रि फ्राइडे कार्यक्रम लागु गर्ने योजना रहेको बताउनुभयो ।
सबै शिक्षक, कर्मचारी साथीहरुसँग सल्लाह गरेर योेजना बनाएर काम गर्ने उहाँको भनाइ छ । २ नम्बर वडाकै एक मात्र सरकारी विद्यालयको रुपमा रहेको सिद्धार्थ माविमा कक्षा १२ सम्म पठनपाठन हुन्छ । सिद्धार्थ माविमा २ हजार २३ जना विद्यार्थी अध्ययनरत छन् ।