हेटौँडाः हेटौँडा उपमहानगर क्षेत्रका सामुदायिक विद्यालयमा वार्षिक परीक्षा सुरु भएको छ । शुक्रबारदेखि परीक्षा सुरु भएको हो । नगरस्तरीय शैक्षिक समन्वय समितिको सहजीकरणमा नगरका ७३ मध्ये ५८ वटा विद्यालयमा एकसाथ परीक्षा सुरु भएको छ । बिहान र दिउँसो दुई सिफ्टमा परीक्षा सञ्चालन हुने नगरस्तरीय शैक्षिक समन्वय समिति हेटौँडाका अध्यक्ष भोगेन्द्र लुइटेलले जानकारी दिनुभएको छ ।
नगरस्तरीय शैक्षिक समन्वय समितिले सञ्चालन गरेको परीक्षामा ५८ वटा विद्यालयका नौ हजार २३ जना विद्यार्थी परीक्षामा सहभागी हुने बताइएको छ । बिहान साढे १० बजेदेखि ५ कक्षासम्मका विद्यार्थीको परीक्षा सञ्चालन हुनेछ भने दिउँसो १ बजेदेखि ६, ७ र ९ कक्षाका विद्यार्थीको परीक्षा हुनेछ । परीक्षा चैत ९ गतेसम्म सञ्चालन हुनेछ । चालु शैक्षिक सत्रको कक्षा ८ को पालिकास्तरीय परीक्षा हेटौँडामा चैत ४ गतेबाट सुरु हुँदैछ भने एसईर्ई देशव्यापीरुपमा चैत १५ गतेबाट हुँदैछ ।