हेटौँडाः मकवानपुरको भीमफेदी गाउँपालिका–१, सामरीमा शनिबार तेस्रो संस्करणको ६ ए रिभर साइट क्रिकेट प्रतियोगिता हुने भएको छ । रेड स्वाइल क्रिकेट क्लबको आयोजनामा तथा मकवानपुर जिल्ला क्रिकेट संघको प्राविधिक सहयोगमा एक दिने रिभर साइट क्रिकेट प्रतियोगिता हुने भएको हो ।
बिहिबार हेटौँडामा पत्रकार सम्मेलनको आयोजना गर्दै आयोजकले प्रतियोगिताको बारेमा जानकारी गराएको छ । प्राकृतिक वातावरणसँग रमाउन, प्राकृतिक वातावरणमा समावेश हुन र बाहिरी माहौलमा घुलमिल गराउनका प्रतियोगिताको आयोजना गर्न लागेको आयोजकले जनाएको छ । वनभोज कार्यक्रमसहित प्रतियोगिता आयोजना गरिएको र खेलाडीहरुले कुनै शूल्क तिर्न नपर्ने बताइएको छ । अनुप प्रसाद सेनुरियाको संयोजकत्वमा हुने प्रतियोगितामा ६ वटा टिमको सहभागिता रहने छ । प्रतियोगितामा कर्रा सुपर किङ्ग, गोदावरी स्टिल, शुभ डेरी, भ्याब्सन क्रिकेट क्लब, निब्टा क्रिकेट क्लब र हेटौँडा एकेडेमी प्रतियोगितामा सहभागी हुँदैछ ।
प्रतियोगिताका लागि खेलाडीको टिम दर्ता शुल्कबाट सहयोग प्राप्त हुने कार्यक्रम संयोजक सेनुरियाले बताउनुभयो । गतवर्षको प्रतियोगितामा ६ वटा टिमहरुको सहभागिता रहेको बताउनुहुँदै यो वर्ष समय अभावको कारणले ६ वटा टिमहरुलाई मात्र सहभागी गराएर प्रतियोगिता संचालन गर्न लागेको उहाँले बताउनुभयो । प्रतियोगिता लिग प्रणालीमा संचालन हुनेछ ।
प्रतियोगिताको उपाधि विजेता र उपविजेता टिमले नगदसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै उत्कृष्ट बलर, उत्कृष्ट व्याट्सम्यान र प्लेयर अफ द सिरिजका लागि पनि पुरस्कारको व्यवस्था गरिएको छ । यस वर्ष प्रतियोगितामा पुरस्कार राशि बढाइने बताइएको छ । प्रतियोगिता आयोजनाका लागि करिब ३ लाख ५० हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । दोस्रो संस्करणको प्रतियोगिताको उपाधि हेटौँडा एकेडेमीले जितेको थियो भने उपविजेता निब्टा क्रिकेट क्लब बनेको थियो ।