जलविन्दुसम्बन्धी जानकारी गराउनुहुँदै हेटौँडा सामुदायिक आँखा अस्पतालका प्रमुख डा. सुनिल थकाली ।

हेटौँडाः जलविन्दुबाट प्रभावित भएकामध्ये ८० प्रतिशतमा दृष्टिविहिन हुने जोखिम रहने बताइएको छ । हेटौँडा सामुदायिक आँखा अस्पतालका प्रमुख डा. सुनिल थकालीले विश्वमा जलविन्दुको समस्याकै कारण ८० प्रतिशत मानिस दृष्टिविहिन बन्ने जोखिम रहने गरेको जानकारी दिनुभएको हो ।

विश्व जलविन्दु सप्ताह (मार्च १० देखि १६ मार्च) को अवसरमा शुक्रबार आँखा अस्पतालमा जलविन्दु रोग र आँखामा पर्न सक्ने असरहरुबारे छलफललाई सम्बोधन गर्नुहुँदै डा. थकालीले वंशाणुका आधारमा पनि जलविन्दुको जोखिम रहने उल्लेख गर्नुभएको छ । आँखामा पानीको उत्पादन र निकासी सन्तुलनको कमिकमजोरीले जलविन्दुको समस्या देखिने गरेको बताउनुहुँदै डा. थकालीले जलविन्दुका दृष्टिविहिन हुनुको चौथो प्रमुख कारण भएको पनि उल्लेख गर्नुभएको छ ।

हेटौँडा सामुदायिक आँखा अस्पतालमा दैनिक १० जना जलविन्दुको समस्यामा परेका मानिसहरु उपचारका लागि आउने गरेको उहाँले जानकारी दिनुभयो । पहिलो चरणमा जलविन्दुको रोगको कुनै पनि लक्षणहरु नदेखिने उल्लेख गनुहुँदै उहाँले भन्नुभयो, “आँखा बन्द भएपछि मात्र यो रोग लागेको छ कि छैन भनेर पत्ता लगाउन सकिन्छ । त्यसैले मानिसहरुले सयमसमयमा आँखाका परीक्षण गर्नुपर्छ ।”

मधुमेह जस्तै औषधीको प्रयोग गरेर जलविन्दुको समस्यालाई न्युनीकरण मात्र गर्न सकिने बताउनुहुँदै यो रोगलाई ठिक गर्न नसकिने उहाँले बताउनुभयो । जलविन्दुको विरामीले औषधीको प्रयोग गरेर आँखा पाकेर अन्तिम अवस्थामा पुगेको खण्डमा आँखाको शल्यक्रिया गर्नुपर्ने अवस्थामा पुग्न सक्ने उहाँले बताउनुभयो ।