हेटौँडाः हेटौँडा–४ स्थित नवोदय शिशु सदन माविको २८ औं अभिभावक दिवस शनिबार भएको छ । विद्यालयले चरणवद्धरुपमा अभिभावक दिवस मनाउने क्रममा शनिबार कक्षा–४, ५ र ६ का अभिभावक भेला गरेको हो । विद्यालयका शैक्षिक निर्देशक मनोज थिङको अध्यक्षता तथा वडा अध्यक्ष नवीन सिग्देलको प्रमुख आतिथ्यमा अभिभावक दिवस समारोह भएको हो ।
अभिभावक दिवसको अवसरमा विद्यार्थीले नृत्य, गायन तथा उद्घोषण कला प्रस्तुत गरेका थिए । अभिभावकको सहजता र सबै विद्यार्थीको कला प्रस्तुतीका लागि चरणवद्ध अभिभावक भेला गरिएको विद्यालयले जनाएको छ । अभिभावक भेलामा सहभागी अभिभावकले विद्यालयको शैक्षिक क्रियाकलाप सन्तोषजनक रहेको प्रतिक्रिया दिएका छन् । हेटौँडा–११ का धर्मराज स्याङ्तानले आफ्ना दुई छोरी अध्ययनरत विद्यालयले राम्रो क्रियाकलाप गरिरहेको र आफू सन्तुष्ट रहेको प्रतिक्रिया दिनुभयो ।
हेटौँडा–९ की करुणा मिश्रले अभिभावकको अपेक्षाअनुसार नियमित पठनपाठन र क्रियाकलापहरु भइरहेको प्रतिक्रिया दिनुभयो । हेटौँडा–९ कै किसन न्यौपानेले विद्यालयको क्रियाकलाप राम्रो रहेको र अब विद्यालयका क्रियाकलापसँग बालबालिका अभ्यस्त भएका कारण अन्य विद्यालय लगे पनि समावेश हुन अनुकुल नहुने अवस्था रहेको बताउनुभयो ।