हेटौंडाः डिभिजन वन कार्यालय मकवानपुरले वनको जग्गा अतिक्रमण गरेर बनाइएका संरचना हटाएको छ । हेटौंडा–१६, हटियास्थित घ्याम्पे सामुदायिक वनको जग्गा अतिक्रमण गरेर बनाइएको पोषक ब्रीडर्स फार्मको संरचना हटाइएको वन कार्यालयका सूचना अधिकारी दीपक अधिकारीले बताउनुभयो ।
वनको करिब १४ कठ्ठा जग्गा अतिक्रमणमुक्त बनाएको अधिकारीले बताउनुभयो । केही दिनअघि मकवानपुरका प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाई, सहायक प्रमुख जिल्ला अधिकारी झरेन्द्र चापागाई र वन कार्यालयका पदाधिकारीसहितको संयुक्त टोली खटेर उक्त संरचना हटाएको उहाँले बताउनुभयो । उक्त जग्गामा बनेको सबै संचरना हटाएर खाली गरेको र त्यहाँ वृक्षरोपण गरिने अधिकारीले बताउनुभयो ।
केही महिनाअघि उक्त वनको जग्गा अतिक्रमण भएको भन्दै अख्यिारमा मुद्दा दर्ता भएको थियो । अख्तियारले जिल्ला वन कार्यालयलाई छानबिन गर्न भनेपछि अमिनलाई खबर गरेर चेकजाँच गर्दा अतिक्रमण भएको पाइएको अधिकारीले बताउनुभयो ।
उक्त ऐलानी जग्गा फार्म सञ्चालकले पनि पछि किनेकाले त्यसमा प्रत्यक्ष संलग्नता नदेखेको उहाँले बताउनुभयो । उनलाई अहिले कारबाही भएको छैन । वन कार्यालयले उक्त अतिक्रमण भएको जग्गा हटाउन सूचना दिएपछि फार्म सञ्चालकले कुनै अटेर नगरी भत्काएर सहयोग गरिदिएको उहाँले बताउनुभयो ।