हेटौँडाः विभिन्न घटनामा एकै दिन ३ जनाको मृत्यु भएको छ । चितवन, सिन्धुपाल्चोक र नुवाकोटमा एकै दिन ३ जनाको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।
चितवन जिल्लाको भरतपुर महानगरपालिका–६, प्रेमबस्तीमा बोलेरो जीपले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका–३ घर भई हाल प्रेमबस्तीमा डेरा गरी बस्ने ४० वर्षीय अमरदेव महतो रहेको प्रहरीले जानकारी दिएको छ । बिहीबार नम्बर नखुलेको बोलेरोले ना १७ प ७३१३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक महतो गम्भीर घाइते भएका थिए । घाइते महतोलाई उपचारका लागि भरतपुर सरकारी अस्पताल लगिएकोमा उपचारको क्रममा शुक्रबार बिहान मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
सिन्धुपाल्चोकको जुगल गाउँपालिका–१, बाँससिम्लेमा एकजना पुरुष मृत फेला परेका छन् । मृत फेला पर्नेमा ४७ वर्षीय डम्बरबहादुर थापा रहेको प्रहरीले जानकारी दिएको छ । थापा बुधबार बिहान ११ बजेको समयमा घरमा जानकारी नगराई आफूखुसी निस्केकोमा आफन्तले खोजतलास गर्दै जाँदा बिहीबार बिहान ७ बजेको समयमा आफ्नै पाखोबारीमा मृत फेला परेको प्रहरीले जनाएको छ ।
नुवाकोट जिल्लाको किस्पाङ गाउँपालिका–५ मा ट्रयाक्टर अनियन्त्रित भई पल्टिँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा रौतहट जिल्लाको मौलापुर नगरपालिका–६, पथराबुद्धरामपुर बस्ने १८ वर्षीय धिरज यादव रहेको प्रहरीले जानकारी दिएको छ । बिहीबार दिउँसो ४ बजेर २० मिनेटको समयमा फिकुरे–भाल्चे कच्ची सडकखण्डको मानेगाउँमा त्रिशुलीबाट भाल्चेतर्फ जाँदै गरेको ५ त ८१६२ नम्बरको ट्र्याक्टर ह्याण्डल फुत्की अनियन्त्रित भई बाटोबाट ५ फिट तल पल्टँदा यादवको घट्नास्थलमा नै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।