हेटौँडाः हेटौँडा–८, कमानेस्थित चन्द्रोदय मावि बालमैत्री विद्यालय घोषणा गरिएको छ । मंगलबार हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मीना कुमारी लामाले चन्द्रोदय माविलाई बालमैत्री विद्यालय घोषणा गर्नुभएको छ ।
बालमैत्री विद्यालय घोषणा कार्यक्रममा विद्यालयले सहयोगीलाई सम्मान गरेको छ । बालमैत्री विद्यालय घोषणा कार्यक्रममा विद्यार्थीले नृत्य कला प्रस्तुत गरेका थिए । प्रधानाध्यापक जीधराज ढकालले विद्यालयले बालमैत्री विद्यालय घोषणाका लागि विभिन्न सूचक पूरा गरेर नगरपालिकाबाट अनुमति प्राप्त गर्न सफल भएको बताउनुभयो । उहाँले विद्यालयले बालमैत्री भौतिक संरचना, वातावरण र आचारसंहिता पूरा गरेको बताउनुभयो । उहाँले विद्यालयले अतिरिक्त क्रियाकलापहरुलाई थप व्यवस्थित गरेर लैजाने बताउनुभयो ।
उहाँले विद्यालयले विद्यालय व्यवस्थापन समितीमा एक–एक जना छात्रा र छात्र विद्यार्थी अनिवार्य सहभागी गराउन सुरु गरेको बताउनुभयो । यसले विद्यार्थीको सर्वाङ्गीण विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने उहाँले बताउनुभयो । विद्यालय व्यस्थापन समितिका अध्यक्ष ईवाकर मैनालीको सभाध्यक्षतामा भएको कार्यक्रममा नगर उपप्रमुख राजेश बानियाँ, वडाध्यक्ष रामकृष्ण थापा, विद्यालयकी बाल समूहकी अध्यक्ष सुप्रिया मोक्तानको पनि उपस्थिति रहेको थियो । मंगलबार नै हेटौँडा–२ स्थित बालजागृति इंग्लिस सेकेण्डरी स्कूल र हेटौँडा–१६, हटियास्थित जनप्रिय माविलाई बालमैत्री पालिका घोषणा गरिएको छ ।