मकवानपुरगढी गाउँपालिका

हेटौंडाः मकवानपुरको मकवानपुरगढी गाउँपालिकालाई अनिवार्य तथा निःशुल्क शिक्षा लागू भएको पालिका घोषणा गर्ने तयारी तीव्र भएको छ । आइतबार बसेको पालिकाभित्रका प्रधानाध्यापकहरुको नियमित बैठकमा यसबारे अभिमुखीकरण र सुझाव लिइएको हो ।

पालिकालाई यही आर्थिक वर्षभित्र उक्त कार्यक्रम घोषणाका लागि प्रधानाध्यापकहरुलाई अभिमुखीकरण र सहयोगका लागि अपिल गरेको गाउँ शिक्षा योजना निर्माण फोकल पर्सन कमल फुयाँलले जानकारी दिनुभयो । बैठकमा गाउँ शैक्षिक योजना निर्माणका लागि प्रधानाध्यापकहरुबाट सुझाव संकलन, आगामी वर्षको शैक्षिक क्यालेन्डरको मस्यौदामाथि छलफल र समीक्षा भएको छ ।

विद्यालयहरुमा वार्षिक परीक्षा सञ्चालन र व्यवस्थापनका बारेमा छलफल भएको छ । बैठकले पालिकाभरका ३७ सामुदायिक विद्यालयमा कक्षा ८ को परीक्षा चैत ४ गतेदेखि सुरु गर्ने र अन्य कक्षाहरुको चैत २ गतेबाटै सुरु गर्ने निर्णय गरेको छ । बैठकले चैतको २५ गतेबाट अभिभावक भेटघाट कार्यक्रम गरी विद्यार्थी भर्ना सुरु गर्ने भएको छ । यस पटकदेखि भर्ना अभियानमा शिक्षकमात्र नहिँड्ने र अभिभावक भेटघाट कार्यक्रममा आफ्नो सेवा क्षेत्रको जनप्रतिनिधिको नेतृत्वमा अभियान चलाउने पनि बैठकले निर्णय गरेको छ ।

बैशाखको पहिलो हप्तामा विद्यार्थीको नामाङ्कन, पुस्तक वितरण गर्ने, गाउँपालिकाको शिक्षा शाखाले प्रधानाध्यापकसँग कार्यसम्पादन सम्झौता गर्ने र प्रधानाध्यापकले आफ्नो विद्यालयमा सबै शिक्षकहरुसँग कार्यसम्पादन सम्झौता गर्ने बैठकले निर्णय गरेको छ । बैठकले आगामी चैतको २४ गते प्रधानाध्यापकहरुको बैठक बस्ने निर्णय गरेको छ ।

नयाँ शैक्षिक सत्र सुरु भएको पहिलो हप्तामा हरेक विषयगत शिक्षकहरुले वार्षिक शैक्षिक योजना बनाएर प्रधानाध्यापकलाई बुझाउनुपर्ने, विभिन्न प्राकृतिक प्रकोपमा भौतिकरुपमा विद्यालय बन्द भएपनि शैक्षिक क्रियाकलापलाई यथावत राख्न शैक्षिक भैपरी योजना निर्माण गर्ने निर्णय बैठकले गरेको छ ।

पालिकाको शिक्षा शाखा प्रमुख राम घलानको सभाध्यक्ष तथा पालिकाका अध्यक्ष दोर्जे लामा स्याङ्तानको प्रमुख आतिथ्यमा भएको प्रधानाध्यापक बैठकमा पालिकाकी उपाध्यक्ष मानकुमारी पाख्रिन, प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र कार्की र सामाजिक विकास समितिका संयोजक आइत सिं लोको पनि उपस्थिति रहेको थियो ।