गुगल तस्विर ।

हेटौंडाः बागमती प्रदेशभित्रको तीन जिल्लामा विभिन्न घटनामा परी तीन जनाको मृत्यु भएको छ । चितवन, धादिङ र काभ्रे जिल्लामा एक–एक जना गरी तीन जनाको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।

शुक्रबार दिउँसो १ बजेर ३० मिनेटको समयमा चितवनको खैरहनी नगरपालिका–९ स्थित करैयामा आगोले पोलेर एक जनाको ज्यान गएको छ । ज्यान जानेमा सोही ठाउँका ७० वर्षीय किमग्री महतो रहेको प्रहरीले जनाएको छ । महतो आफ्नो घरमा रोटी पकाउने क्रममा आफैंले लगाएको कपडामा आगो सल्किँदा शरीरको विभिन्न भाग पोलेर गम्भीर घाइते भएका थिए ।

घाइते भएका महतोलाई उपचारका लागि नयाँ मेडिकल कलेज चितवनमा लगिएकोमा थप उपचारका लागि साँझ ६ बजेर ५५ मिनेटको समयमा काठमाडौंस्थित बर्न अस्पताल कीर्तिपुर पठाइएको थियो । काठमाडौं पठाइएकोमा राति १० बजेर ५० मिनेटको समयमा डाक्टरले महतोलाई मृत घोषणा गरेको हो । शुक्रबार दिउँसो ४ बजेको समयमा धादिङको नेत्रावती गाउँँपालिका–२ स्थित कटुञ्जेमा एक जना मृत अवस्थामा फेला परेका छन् । मृत फेला पर्नेमा सोही ठाउँका ७१ वर्षीय बाबुराम मानन्धर रहेको प्रहरीले जनाएको छ । मानन्धर आफ्नै घरदेखि २ किलोमिटर पर रहेको महावीरचुली भिरमा मृत अवस्थामा फेला परेको जनाइएको छ । शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल धादिङमा राखिएको छ ।

यस्तै, शुक्रबार दिउँसो १ बजेको समयमा काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–९ स्थित काभ्रेभञ्ज्याङमा एक जना वृद्धा मृत फेला परेकी छिन् । डेरा गरी बस्ने ८३ वर्षीया लक्ष्मी तामाङ आफू सुत्ने कोठामा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । शवलाई पोष्टमार्टमका लागि धुलिखेल अस्पतालमा राखिएको छ ।