हेटौंडाः मकवानपुरमा दुई साताको अवधिमा मात्रै चार वटा जबर्जस्तीकरणीको घटना भएको छ । फागुन २ गते, ४ गते, ७ गते र १४ गते जिल्लाका विभिन्न स्थानमा जबर्जस्तीकरणको घटना भएको हो ।
फागुन २ गते मकवानपुरको राक्सिराङ गाउँपालिका–२ मा एक नाबालिकामाथि जबरजस्तीकरण भएको भन्दै जिल्ला प्रहरी कार्यालय मकवानपुरका मुद्दा दर्ता भएको छ । फागुन १ गते जबर्जस्तीकरण भएको भन्दै पीडित भनिएका बालिकाको आफन्तले २ गते प्रहरीमा जाहेरी दिएका हुन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्र्रवक्ता लक्ष्मी भण्डारीका अनुसार आरोपित पुरुषको खोजी कार्य भइरहेको छ । यस्तै फागुन ४ गते हेटौंडा–८ मा पनि नाबालिकामाथि जबरजस्तीकरणी भएको भन्दै प्रहरीमा जाहेरी दर्ता भएको छ । फागुन २ गते जबरजस्तीकरण भएको भन्दै पीडित भनिएका परिवारले जाहेरी दिएपछि प्रहरीले अभियुक्त पुरुषलाई पक्राउ गरिएको छ । अहिले उनलाई ९ दिनको म्याद थप गरेर अनुसन्धान गरिरहेको जनाएको छ ।
यस्तै फागुन ७ गते इन्द्रसरोवर गाउँपालिका–५ मा पनि नाबालिकामाथि जबरजस्तीकरण भएको भन्दै प्रहरीमा जाहेरी दर्ता भएको छ । फागुन ५ गते जबरजस्तीकरण भएको भन्दै पीडित भनिएका आफन्तले जाहेरी दिएपछि प्रहरीले आरोपित पुरुषलाई पक्राउ गरी अदालतबाट १० दिनको म्याद लिएर थप अनुसन्धान गरिरहेको छ । यस्तै १४ गते हेटौंडा–१२ मा एक महिलालाई जबरजस्तीकरणी भएको भन्दै प्रहरीमा जाहेरी दर्ता भएको छ । फागुन ९ गते जबरजस्तीकरणी भएको भन्दै प्रहरीमा जाहेरी दर्ता भएपछि प्रहरीले आरोपित पुरुषलाई पक्राउ गरेको छ । पक्राउ पर्ने पुरुषमाथि मंगलबारबाट ८ दिनको म्याद लिएर अनुसन्धान गरेको छ ।
प्रहरीले आरोपित पुरुषहरुको नाम भने सार्वजनिक गरेको छैन । आरोपित पुरुषको नाम सार्वजनिक भइसकेपछि पीडितको पहिचान खुल्ने गरी विभिन्न क्रियाकलाप हुने भन्दै आफुहरुले आरोपितको नाम सार्वजनिक नभएको प्रहरी नायव उपरीक्षक भण्डारीले बताउनुभयो । अदालतले दोषी ठहर नगरेसम्म प्रहरी यस्तो खाले तथ्यांक उपलब्ध गराउने संवेदनशील हुने उहाँले बताउनुभयो । जिल्लामा चालु आर्थिक वर्षको फागुनसम्ममा ५७ वटा जबरजस्तीकरणका घटना भएको छ ।










