हेटौंडाः सहमति जुट्न नसकेपछि बुधबार बस्ने भनिएको बागमती प्रदेशसभा बैठक स्थगित भएको छ । झण्डै ५ महिनापछि मंगलबार बसेको प्रदेशसभाले शोक प्रस्ताव पारित गरेपछि सभामुख भुवनकुमार पाठकले बुधबार विहान ११ः३० बजेको लागि बैठक आह्वान गरी बैठक समापन गर्नुभएको थियो ।

दलहरुको सहमति नभएपछि बुधबार बस्ने भनिएको बैठक बस्न नसकेको हो । आज बिहीबार ११ बजे बैठक बस्ने भनिएको छ । मंगलबार प्रदेशसभा बैठक बस्नुअघि पनि सभामुख पाठकको निवासमा सर्वदलीय बैठक बसेको थियो । बैठक निष्कर्षविहीन बनेको थियो । बैठकमा प्रतिपक्षीले सरकारले बजेट निर्माणको क्रममा गरेको सहमति पूरा गर्नुपर्ने माग राखेको थियो भने सरकारले अख्तियारको पत्र देखाउँदै बजेट हाल्न नमिल्ने भन्दै आएको छ ।

पूर्वसहमति अनुसार बजेट बाँडफाँट नभएको भन्दै एमालेसहितका विपक्षी दलले प्रदेशसभा बैठक अवरुद्ध गर्ने चेतावनी दिँदै आएका छन् । मंगलबारको बैठकमा शुभकामना आदानप्रदान गर्ने क्रममा विपक्षी दलका प्रदेशसभा सदस्यहरुले सत्तापक्षको आलोचना गरेका थिए । सरकारले गरेको सहमतिअनुसार काम नगरेको भन्दै विपक्षी दलहरुले असमति जनाउँदै आएका छन् । प्रदेश सरकारले बजेट निर्माणको क्रममा प्रतिपक्षलाई बायस गरेको आरोप छ ।

मंगलबारको सर्वदलीय बैठकमा प्रदेश सरकारका उच्च पदस्थ कर्मचारीहरुले बजेटका सम्बन्धमा सत्ता पक्ष र विपक्षबीच भएको सहमति र त्यसको कार्यान्वयनमा देखिएका जटिलताबारे जानकारी गराएका थिए । सर्वदलीय बैठकमा प्रदेश सरकारका प्रमुखसचिव घनश्याम उपाध्याय, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका कानुन सचिव विनोद भट्टराई, आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव प्रकाश दाहाल, सोही मन्त्रालयका उपसचिव लक्ष्मीकुमार रिमाल सहभागी रहनुभएको थियो । सर्वदलीय बैठकमा कर्मचारीका तर्फबाट सत्तापक्ष र विपक्षीबिच भएको सहमति कार्यान्वयन गर्न प्रक्रियागतरुपमा जटिल रहेकोसमेत बताइएको छ । बुधबार पनि सर्वदलीय बैठक बस्ने क्रममा मुख्यमन्त्री उपस्थित नभएपछि विपक्षी दलले पनि सर्वदलीय बैठकमा कुनै छलफल नै गरेनन् । प्रदेशमा विपक्षी र सत्तापक्षको टकराबले संसदमा जनताको विषमा छलफल हुन सकेको छैन ।