कार्यपालिका बैठकका निर्णयहरु ।

हेटौँडाः हेटौँडा उपमहानगरपालिकाले कार्यपालिका बैठकको निर्णय सार्वजनिक गरेको छ । कार्यतालिकाअनुसार बुधबार बिहान बसेको कार्यपालिका बैठकको निर्णय बुधबार साँझ सार्वजनिक गरेको हो । कार्यपालिका बैठकले १४ वटा बुँदामा विभिन्न निर्णय गरेको छ ।

कार्यपालिका बैठकले कार्यपालिका बैठक आवश्यकताअनुसार मात्रै प्रत्यक्ष प्रसारण गर्ने जनाएको छ । यसअघि गत माघ २६ गते कार्यपालिका बैठक प्रत्यक्ष प्रसारण गरेको थियो । कार्यपालिका बैठक प्रत्यक्ष प्रसारण गरेको भनी चौतर्फी प्रशंसा भइरहँदा बुधबारको बैठकले भने आवश्यकताअनुसार मात्रै बैठकको प्रत्यक्ष प्रसारण गर्ने निर्णय गरेको छ । सार्वजनिक सुनुवाई, नगर स्थापना दिवस, नगर सभा लगायत विशेष महत्वका कार्यक्रमहरु प्रत्यक्ष प्रसारण गर्ने निर्णय गरिएको छ । कार्यपालिका बैठकका निर्णय प्रवक्तामार्फत सार्वजनिक गर्ने निर्णय गरिएको छ ।

बुधबारको कार्यपालिका बैठकले हेटौँडा उपमहानगरपालिकाको गौरवको योेजनाअन्तर्गत नगर विकास कोषसँग ऋण लिई हेटौँडा–१० मा हेटौँडा कम्प्लेक्स निर्माणका लागि तयार भएको करिब ६६ करोडको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) स्वीकृत गर्ने निर्णय गरेको छ । हेटौँडा–१० मै एउटा व्यावसायिक कम्प्लेक्स निर्माणाधिन अवस्थामा रहेको, हेटौँडा–४, हुप्रचौरमा अर्को व्यावसायिक कम्प्लेक्स निर्माण कार्य अगाडि बढाउन नसकिरहेको उपमहानगरले हेटौँडा–१० मा अर्को व्यावसायिक कम्प्लेक्स निर्माणमा अग्रसरता देखाइरहेको छ । पछिल्लो समय समग्र आर्थिक अवस्थामा मन्दि छाइरहेको परिस्थितिमा ऋण लिएर व्यावसायिक भवन निर्माणमा उपमहानगरको अस्वभाविक चासो देखिन्छ ।

कार्यपालिका बैठकले हेटौँडा उपमहानगरपालिका मातहतको हटिया अस्पतालमा कार्यरत डा. कमलराज न्यौपानेको राजिनामा स्वीकृत गर्ने निर्णय गरेको छ ।