स्रष्टा सम्मान गरिर्दैको तस्वीर ।

हेटौंडाः झरना साहित्यिक परिवार मकवानपुरले आठ जना स्रष्टाहरुलाई सम्मान गरेको छ । शनिबार बकैया–९, शिखरपुरस्थित कालीदेवी माविमा सम्पन्न बकैया कला–साहित्य महोसत्वको अवसरमा आठ जना स्रष्टाहरुलाई सम्मान गरेको हो ।

बकैया निवासी नरप्रसाद गौतमले स्थापना गर्नुभएको २१ हजार १ सय ११ रुपैयाँसहितको होमनाथ टीकामाया प्रतिभा सम्मानबाट डा. गीता त्रिपाठी सम्मानित हुनुभएको छ । यस्तै, हेटौंडा–२ स्थित बालजागृति बोर्डिङका प्रिन्सिपल विनोद सुवेदीले स्थापना गर्नुभएको १५ हजार ५ सय ५५ रुपैयाँ राशिसहितको बाबुलाल भोजमाया स्मृति साहित्य सम्मानबाट साम्ब ढकाल सम्मानित हुनुभएको हो ।

नन्ददेवी गौतमले स्थापना गर्नुभएको ११ हजार १ सय ११ रुपैयाँ राशिसहितको गोकर्ण गौतम स्मृति पत्रकारिता पुरस्कारबाट रामकुमार एलन र अर्पण पराजुलीले स्थापना गर्नुभएको ७ हजार ७ सय ७७ रुपैयाँसहितको खडानन्द–मनमाया युवा प्रतिभा सम्मानबाट मिलन समीर सम्मानित हुनुभएको छ । यस्तै, बकैया–४ का वडा अध्यक्ष राजन दंगालले स्थापना गर्नुभएको ७ हजार ७ सय ७७ रुपैयाँसहितको सुशीला दंगाल स्मृति सिर्जनशील नारी सम्मानबाट विमला कार्की सम्मानित हुनुभएको छ ।

तुलसी गिरीले स्थापना गर्नुभएको ७ हजार ७ सय ७७ रुपैयाँसहितको सञ्जीवनी बुटी साहित्य सेवा सम्मानबाट भरतप्रसाद सापकोटालाई सम्मान गरिएको छ । बकैया गाउँपालिकाका उपाध्यक्ष भक्तबहादुर खत्रीले स्थापना गर्नुभएको ७ हजार ७ सय ७७ रुपैयाँसहितको कलकारिता सम्मानबाट विष्णु घतानी र चन्द्रकुमार राईले स्थापना गर्नुभएको ५ हजार ५ सय ५५ रुपैयाँसहितको झरना–बकैया युवा प्रतिभा सम्मानबाट अजर फुयाँल सम्मानित हुनुभएको छ ।

महोत्सवको अवसरमा चित्रकला, कविता र निबन्ध लेखन प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेहरुलाई पनि सम्मान गरिएको छ । संस्थाका अध्यक्ष विश्वनाथ सञ्जेलको सभाध्यक्षमा भएको महोत्सव समापन कार्यक्रममा बकैयाका अध्यक्ष धर्मराज लामिछाने, वडा नम्बर ४ का वडा अध्यक्ष राजन दंगाल, ५ नम्बरकी लक्ष्मी जिम्बा, ९ नम्बरका टंकध्वज लोप्चन र १० नम्बर वडाका वडाध्यक्ष कमला वाईबालगायतको आतिथ्य रहेको थियो ।