हेटौँडाः विभिन्न घटनामा एकै दिन ४ जनाको मृत्यु भएको छ । चितवन, रसुवा, काभ्रेपलाञ्चोक र दोलखा जिल्लामा एकैदिन ४ जनाको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।
चितवन जिल्लाको खैरहनी नगरपालिका–१०, कठारमा मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा ३४ वर्षीय दिलिप चौधरी रहेको प्रहरीले जानकारी दिएको छ । शुक्रबार ना ४५ प ७७९८ नम्बरको मोटरसाइकल दुर्घटना भई पल्टिरहेको अवस्थामा प्रहरी टोली पुगेको थियो । प्रहरी टोली पुग्दा चौधरी घटनास्थलमा मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ ।
रसुवा जिल्लाको आमाछोदिङ्मो गाउँपालिका–१, हाकुवेशीमा ढुङ्गाले लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ठूलो हाकुका ४५ वर्षीय दावा नुर्बु तामाङ रहेको प्रहरीले जानकारी दिएको छ । शुक्रबार साँझ ५ बजेर ३० मिनेटको समयमा निर्माणाधिन माथिल्लो त्रिशुली थ्री ए (२१६) हाइड्रो पावरको ड्याम साईडमा लेवरको काम गर्ने तामाङ काम गरी रहेको अवस्थामा अचानक भिरबाट ढुङ्गा खसी लाग्दा घाइते भएका थिए । घाइते तामाङलाई उपचारका लागि काठमाडौंस्थित ग्राण्डी अस्पताल लगिएकोमा उपचारको क्रममा शुक्रबार राती १० बजेको समयमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
काभ्रेपलाञ्चोक जिल्लाको धुलिखेल नगरपालिका–१२, शंखुपाटीमा एकजना पुरुष मृत फेला परेका छन् । शुक्रबार बिहान १० बजेर ४० मिनेटको समयमा मानव कल्याण समाजमा डेढ बर्ष अगाडि जिल्ला प्रहरी परिसर भक्तपुरबाट उद्दार गरी लगिएको नामथर नखुलेको अन्दाजी ४२ वर्षीय पुरुष मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ ।
यस्तै, दोलखा जिल्लाको जिरी नगरपालिका–९, ठुलोपातलमा रुखले लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ३८ वर्षीया अनिता तामाङ रहेको प्रहरीले जानकारी दिएको छ । शुक्रबार बिहान १० बजेर ३० मिनेटको समयमा आफ्नै बारीमा रुख काटी डोरीले तान्ने क्रममा सो रुखको माथिल्लो भाग भाँचिएर टाउकोमा लाग्दा तामाङ घाइते भएकी थिइन् । घाइते तामाङलाई उपचारका लागि जिरी अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।