पत्रकार सम्मेलनमा साधारणसभाबारे जानकारी गराउनुहुँदै महासचिव राजेन्द्र चौलागाई ।

हेटौंडाः नेपाल निर्माण व्यवसायी महासंघको २५ औं बार्षिक साधारणसभा हेटौंडामा हुने भएको छ । महासंघको बार्षिक साधारणसभा आगामी चैत्र १६ र १७ गते हेटौंडामा हुने भएको हो ।

शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै निर्माण व्यवसायी संघ मकवानपुरका अध्यक्ष बालगोपाल कँडेलले जानकारी गराउनुभयो । निर्माण व्यवसायी संघ मकवानपुरको सहआयोजकत्वमा साधारण सभा हुन लागेको हो । साधारण सभामा देशका ७७ जिल्लाका प्रतिनिधि, महासंघमा आवद्ध साधारण सदस्य, एशोसिएट सदस्य र वस्तुगत सदस्य लगायत पर्यवेक्षकहरुले सहभागिता जनाउने छन् । सभामा करिव १ हजार ८ सय निर्माण ब्यवसायीहरुले सहभागिता जनाउने छन् भने देश बिदेशमा नयाँ प्रबिधिको प्रयोग गर्दै आएका अन्तर्राष्ट्रियस्तरका ख्यातीप्राप्त निर्माण ब्यवसायीहरुले हेटौंडाको भ्रमण गर्नेछन् ।

यसअघि काठमाडौं उपत्यकामा साधारण सभा हुने गरेकोमा यसपटक हेटौंडामा गर्न लागिएको अध्यक्ष कँडेलले बताउनुभयो । राष्ट्रियस्तका कार्यक्रम आयोजना गर्दा यस क्षेत्रको आर्थिक क्षेत्रमा सकारात्मक प्रभाव पर्ने उहाँले बताउनुभयो । पत्रकार सम्मेलनमा निर्माण ब्यवसायी संघ मकवानपुर महासचिव राजेन्द्र प्रसाद चौलागाई, पुर्व अध्यक्षहरु आनन्दराम पराजुली, खड्क गोपाली लगायत संघका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।