हेटौंडा उपमहानगरपालिका ।

हेटौँडाः हेटौँडा उपमहानगरपालिकाको कार्यपालिका बैठक सामाजिक सञ्जालमार्फत प्रत्यक्ष प्रसारण भए पनि निर्णय भने गोप्य नै राखिएको छ । बैठकमा भएका निर्णयहरु के–के लेखियो भन्ने उपमहानगरपालिकाले सार्वजनिक गरेको छैन । माघ २६ गते बसेको कार्यपालिकाको बैठकका निर्णय सार्वजनिक भएको छैन ।

यसअघि पुस ६ गते, पुस २० गते र माघ १६ गते बसेको कार्यपालिका बैठकको निर्णय सार्र्वजनिक गरेको उपमहानगरपालिकाले पछिल्लो बैठकको निर्र्णय सार्वजनिक गरेको छैन । पछिल्लो पटक माघ १६ गते बसेको कार्यपालिका बैठकको निर्णय सार्वजनिक गर्दा उपमहानगरपालिकाले गम्भीर त्रुटी गरेको थियो । कार्यपालिका बैठकले गरेका निर्णय केही सार्वजनिक भएका थिए भने केही सार्वजनिक गरिएको थिएन । स्थानीय सरकारको बैठकका निर्णय औपचारिक रुपमा सार्वजनिक गर्दा केही सार्वजनिक हुनु र केही सार्वजनिक नहुनुले कानुनी जटिलता निम्तने जोखिम देखिएपछि माघ १६ गते गरिएका केही निर्णयलाई माघ २६ गते दोहोर्याएर निर्र्णय गरिएको थियो ।

कार्यपालिका बैठकका निर्णयहरु सार्वजनिक नभएको विषयमा कर्मचारी र प्रवक्ता दुवैले सार्वजनिक हुन्छ भन्ने आश्वासन मात्रै दिने गरेका छन् । हेटौँडा उपमहानगरपालिकाका प्र्रवक्ता समेत रहनुभएका १ नम्बर वडा अध्यक्ष सविन न्यौपानेले सल्लाह गरेर निर्णय सार्वजनिक गरिने बताउनुभएको छ । यता उपमहानगरपालिकाको प्रशासन शाखाका कानुन अधिकृत लक्ष्मण मैनालीले माघ २६ गतेको निर्णय सार्वजनिक नभएको स्वीकार्नुहुँँदै नगरप्रमुखको आदेश भए सार्वजनिक हुने जानकारी दिनुभयो ।

पछिल्लो बैठकमा कार्यपालिका सदस्यका विमतिका बीच आर्थिक सहयोगसम्बन्धी निर्णयहरु भएका छन् । स्थानीय सरकारको कार्यपालिका बैठकका निर्णयहरु बैठक लगत्तै नलेखिने र लेखिएका निर्णय कार्यपालिका सदस्यले समेत हेर्न पाउने व्यवस्था छैन । केही कार्यपालिका सदस्यहरुले सुरुवातदेखि कै निर्णयको दस्तावेज सार्वजनिक गर्न समेत माग गरिरहेका छन् । कार्यपालिका सदस्य भएर पनि निर्र्णयको प्रति हेर्न नपाएको एक वडा अध्यक्षको गुनासो छ । बैठकमा छलफल नै नभएका विषय पनि निर्णय पुस्तिकामा लेखेर प्र्रमाणित गर्ने गरिएको पनि वडाअध्यक्षहरुको आरोप छ ।

सार्वजनिकरुपमा तीव्र आलोचनापछि कार्यपालिका बैठकका निर्णय सार्वजनिक गर्न सुरु गरेको उपमहानगरपालिकाले अन्ततः कार्र्यपालिका बैठकको प्रत्यक्ष प्रसारण नै गर्न सुरु गरेको हो । आलोचनाबीच उपमहानगरपालिकाले कार्यपालिका बैठक पनि नियमित गर्ने प्रयास गरिरहेको छ । चालु आर्थिक वर्षमा पहिलो पटक माघ १६ गते कार्यतालिकाअनुसार कार्यपालिका बैठक बसेको हो । कार्यतालिकाअनुसार फागुन २ गते कार्यपालिका बैठक बस्नुपर्ने भए पनि बैठक हुन सकेन । हेटौँडा उपमहानगरपालिकाले हरेक महिनाको २ र १६ गते कार्यपालिका बैठक बस्ने कार्यतालिका बनाएको छ ।