उपाधि साथ आधुनिक राष्ट्रिय माविको टिम ।

हेटौँडाः मकवानपुर जिल्ला क्रिकेट संघले आयोजना गरेको स्वर्गीय निरज श्रेष्ठ स्मृति दोस्रो विद्यालयस्तरीय टी–२० क्रिकेट प्रतियोगिताको उपाधि हेटौँडा–४ स्थित आधुनिक राष्ट्रिय माध्यमिक विद्यालयले जितेको छ । सोमबार सम्पन्न भएको फाइनल खेलमा साविक विजेता हेटौँडा–४ स्थित भुटनदेवी माध्यमिक विद्यालयलाई ६७ रनले हराउँदै आधुनिकले उपाधि जितेको हो ।

टस जितेर पहिलो व्याटिङ गरेको आधुनिक माविले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ३७ रन बनाएको थियो । आधुनिक माविबाट रोहित यादवले सर्वाधिक ३९ रन बनाएका थिए । दिपेश कुशवाहले २६ रन, रवी यादवले २५ र आशिक अधिकारीले १२ रन बनाएका थिए । यता बलिङतर्फ भुटनदेवीबाट साजित अलि खानले सर्वाधिक ४ विकेट लिएका थिए । नरेन्द्र अधिकारी, ऋतिक यादव, नसिम शेख र ओम प्रकाश रामले समान १–१ विकेट लिएका थिए ।

आधुनिकले दिएको १ सय ३७ रनको लक्ष्य पछाएको भुटनदेवी माविले १४ ओभर ४ बलमा सबै विकेट गुमाएर ७० रन मात्रै जोड्न सफल भएको थियो । भुटनदेवीको तर्फबाट नसिम शेखले १७ रन बनाएका थिए । नरेन्द्र अधिकारी र सुमित यादवले समान ८–८ रन बनाएका थिए । आधुनिक माविबाट राहुल यादवले सर्वाधिक ४ विकेट लिएका थिए । रवी यादवले २ विकेट लिएका थिए । प्रिन्स यादव र रोहित ठाकुरले समान १–१ विकेट लिएका थिए । प्रतियोगिताको उपाधि विजेता आधुनिकले ४० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता भुटनदेवी माविले २० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ । म्यान अफ द म्याच आधुनिक माध्यमिक विद्यालयबाट राहुल यादव घोषित भए ।

यस्तै प्रतियोगिताको म्यान अफ द सिरिज भुटनदेवी माविका नरेन्द्र अधिकारी घोषित हुँदै ५ हजार रुपैयाँ प्राप्त गरे । उत्कृष्ट बलर सिद्धार्थ शिशु सदनका नयन स्याङ्बो र उत्कृष्ट व्याट्सम्यान आधुनिकका प्रिन्स यादव घोषित भए । प्रतियोगिताका लागि प्रथम पुरस्कारको प्रायोजन मकवानपुर जिल्ला साइक्लिङ संघका कोषाध्यक्ष रुपक मानन्धरले र द्वितीय पुरस्कारको प्रायोजन महारत्न बज्राचार्यले गर्नुभएको थियो ।

मकवानपुर जिल्ला क्रिकेट संघका अध्यक्ष करण महत्रा क्षेत्रीको सभाध्यक्षमा तथा हेटौँडा उपमहानगरपालिका वडा नम्बर ४ का अध्यक्ष नवीन सिग्देलको प्रमुख आतिथ्यमा पुरस्कार वितरण कार्यक्रम भएको थियो । प्रतियोगिताको समापन कार्यक्रममा जिल्ला खेलकुद विकास समिति मकवानपुरका अध्यक्ष वेश खड्की, मकवानपुर जिल्ला क्रिकेट संघका संस्थापक अध्यक्ष अरुणराज सुमार्गी, निवर्तमान अध्यक्ष वासुलाल श्रेष्ठको पनि उपस्थिति रहेको थियो ।

समुह चरणका खेलहरुमा दुबै टिमले अपराजित यात्रालाई कायम राखेर तालिकाको शिर्षस्थानमा रहँदै फाइनलको यात्रा पूरा गरेको हो । मकवानपुर जिल्ला क्रिकेट संघको सदस्य संजोक पोखरेलको संयोजकत्वमा प्रतियोगितामा १३ वटा विद्यालयको सहभागिता रहेको थियो ।